कर्णाली भर्सेज पोखराः ‘प्लेअफ’मा पुग्ने सम्भावना कुन टिमको कति ?

जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

दुई टिमबीचको खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । हालसम्मको अंक तालिका नियाल्दा अझैपनि कर्णाली र पोखराको प्लेअफमा पुग्ने झिनो सम्भावना कायमै छ ।

अंक तालिकामा कर्णाली छैटौँ तथा पोखरा सातौं स्थानमा छ । प्लेअफमा पुग्न कर्णालीको अंक गणितीय सम्भावना बाँकी छ ।

त्यसका लागि उसले बाँकी दुई म्याचमा फराकिलो जित निकाल्नुपर्छ । साथै ६ अंकका साथ प्लेअफ लक्ष्य हासिल गर्न कर्णालीले अरू टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

यता पोखराको प्लेअफ सम्भावना निकै कठिन देखिएको छ । पोखरा चार खेलबाट २ अंकका साथ तालिकाको सातौं स्थानमा छ । प्लेअफमा पुग्न पोखाले राम्रो नेट रन रेटका साथ चारवटै खेल जित्नुको विकल्प छैन ।

यदि आजको खेलमा कर्णालीसँग हारे पोखराको प्लेअफ सम्भावना लगभग समाप्त हुने भएकाले जित्नैपर्ने दबाब टिमसँग रहेको छ ।

हालसम्म एनपीएल इतिहासमा कर्णाली र पोखरा एक म्याचमा आमने–सामने भएका छन् । गत सिजनको उक्त खेलमा कर्णालीले सात विकेटको जित निकालेको थियो ।

आजपनि कर्णाली पोखराविरुद्ध सहज जित दर्ता गर्नुपर्ने बाध्यतामा छ । यसको विपरित कुशल भुर्तेल नेतृत्वको पोखरा अघिल्लो हारको बदला लिँदै प्लेअफ सम्भावना जीवित राख्न चाहन्छ ।

एनपीएलका ८ टिममध्ये सुदूरपश्चिम रोयल्सलमात्र प्लेअफमा पुगेको छ भने अन्य तीन टोलीको टुंगो लाग्न बाँकी छ । हालसम्म लिगका १९ खेल पुरा भएका छन् ।

Exit mobile version