‘४५ सय बढी कैदी अझै फरार छन्’ – गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५ सय ५२ कैदी बन्दी फरार रहेको बताएका छन् ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले यस्तो बताएका हुन् ।

उनले कैदी बन्दी अझै फरार रहेको भन्दै फरारमध्ये कर्तव्य ज्यान र जघन्य अपराधका न्यून रहेकोसमेत बताए ।

कुल ७ सय २७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि मन्त्री अर्यालको भनाइ छ ।

सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको भन्दै उनले भने, ‘केही थान हतियार र फरार कैदी बन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्नुहोला’

कुशासन र बेथितिविरुद्ध जेन जेड युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनले उल्लेख गरे ।

Exit mobile version