गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार तोकिएकै समयमा निर्वाचन गराउन दत्तचित्त भएर लागेको बताउँदै कुनैपनि राजनीतिक दलले भ्रम छरेर चुनावबट भाग्न नपाउने बताएका छन् ।
गृहमन्त्री अर्यालले कडाइकासाथ भनेका छन् ‘निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउन छाडेर दलहरु पनि चुनावी तयारीमा लाग्नुहोस् ।’
गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सोमबार पोखरामा सम्बोधन गर्दै मन्त्री अर्यालले लोकतन्त्रको अभिन्न अङ्ग विधिको शासन र निष्पक्ष र धाँधली रहित निर्वाचन रहेकाले निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनेर अफवाह फैलाउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु न्यायोचित नहुने उल्लेख गरे ।
‘यो सरकारको निर्माण नै निर्वाचनबाट निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्यले बनेको हो । सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ,’ उनले भने, ‘लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौती मानिएको छ । त्यसलाई समाधान गर्न सरकार जिम्मेवार भएर लागेको छ ।’ लुटिएका हतियार बरामदका लागि विशेष अपरेसन चलाएर गृह मन्त्रालयले काम गरिरहेको उनले बताए ।
फरार कैदीबन्दीमध्ये ७० प्रतिशत फिर्ता आइसकेका गृहमन्त्री अर्यालले जनाए । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने र तोकिएकै मितिमा निर्वाचन हुनेगरी सरकारले आवस्यक तयारी गरिरहेको उनले बताए ।
‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कार्यविधि तयार भएर कार्यान्वयनमा छ,’ उनले भने, ‘निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको तयारीका लागि सरकारले यो सुरक्षा गोष्ठी गरेको हो । यसमा प्रदेशको शान्ति सुरक्षा चुनौती विश्लेषण गर्ने, आवश्यक तयारी गर्ने, निर्वाचनको तयारी गर्न खुलेर छलफल गरिनेछ र निष्कर्षमा पुगिनेछ ।’
आन्दोलनका क्रममा ध्वस्त भएका संरचना र प्रहरी बिटहरूको पुनर्स्थापना गरी सेवा सुचारु गरिएको अर्यालले बताए । उनले सुरक्षा अधिकारीहरूलाई व्यावसायिक र निष्पक्ष भएर काम गर्न निर्देशन दिए । कार्यसम्पादनको मूल्यांकनका लागि निगरानी बढाइने र गल्ती गर्नेलाई नछोडिने उनको चेतावनी छ ।
गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल भएको थियो । प्रदेश सरकारले पनि केन्द्रीय योजनाअनुसार आफ्नो सुरक्षा रणनीति बनाएर लागू गर्ने विश्वास अर्यालले व्यक्त गरे ।
