पोखराको वडा नम्बर २२ पुम्दीभुम्दीमा अन्दाजी ३५ वर्षीय सुरेश लामिछाने मृत अवस्थामा भेटिएका छन् ।
मृतक लामिछानेसँगै उनको मोटरसाइकल पनि रहेको स्थानीयले बताएका छन् । लामिछाने स्थानीयवासी हुन् ।
उनको शव आज बिहानमात्र स्थानीयले देखेका हुन् । सुरुमा त्यहाँ मोटरसाइकलमात्र देखिएको र पछि खोजी गर्दा शव पाइएकाले उनको राती नै मृत्यु भएको अुनमान छ ।
उक्त स्थान विश्व शान्ति स्तुप तल पर्छ ।
स्थानीयले शव देखेपछि वडाध्यक्ष मित्रलाल बराललाई खबर गरेका थिए । त्यसपश्चात् बरालले प्रहरीलाई खबर गरेपछि घटनास्थलको जाँच गरी शव उठाइएको छ ।
प्रहरीले लामिछानेको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखेको छ भने यसबारे थप अनुसन्धान बाँकी रहेको कास्की प्रहरीले बताएको छ ।
