एसिया कपमा नेपालको दोस्रो हार, यूएईसँग पराजित

एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग १० विकेटको हार खाएको नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग सात विकेटले पराजित भएको हो ।

ओमनको अल अमेरात मैदानमा टस जितेर यूएईले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल ४१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १५३ रनमा समेटिएको थियो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ४४ ओभर ४ बलको समाप्तिमा तीन विकेट गुमाएर १५८ रन बनाउँदै पूरा गरेको हो ।

नेपालले दिएको सामान्य रनको लक्ष्य पछ्याएको यूएईका लागि कप्तान अयान मिस्बाहले नटआउट सानदार अर्धशतकीय इनिङ्स खेले । उनले १०४ बलको सामना गर्दा ७५ रन बनाएका हुन् । अहमद खुदादादले २४ रन जोड्दा यलिन किरण राईले ३२ रन बनाए । यूएईविरुद्ध कमजोर बलिङ गरेको नेपालका लागि सुशील रावल, नितिज पट्टेल र बिपिन शर्माले एकएक विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाउँदा सचिन भट्टले ३३, निरजकुमार यादव र दर्सन सोनारले १६–१६ रन जोडनुबाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् ।

नेपाललाई सस्तैमा रोक्न यूएईका निशम खानले सर्वाधिक पाँच विकेट हात पारे भने आयन मिसवाहले तीन विकेट हात पार्दा नुरुल्लाह अयोबीले दुई विकेट लिए ।

दुई खेलमा पराजित भएको नेपाल समूह ‘ए’मा अंकबिहीन बनेको छ । भारत, पाकिस्तान र यूएईले भने दुईदुई अंक जोडेका छन् ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित यूएईले दोस्रो खेलमा नेपालमाथि जित निकालेको हो । पहिलो खेलमा नेपालले दिएको १ सय २९ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा कुनै विकेट नगुमाई भेट्टाएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ ।

Exit mobile version