बाढीपीडितको सहयोगार्थ जिएमसीको २५ लाख सहयोग, निःशुल्क उपचारको व्यवस्था

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)ले बाढीपहिरो पीडितको उद्धार र राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कलेजले प्रधानमन्त्री राहत कोषमा सो रकम प्रदान गरेको हो । देशमा आइलागेको प्राकृतिक विपद्को कठिन समयलाई ध्यान दिँदै कलेजले यो आर्थिक सहायता दिएको हो ।

जिएमसीका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सिएफओ राजु बस्नेतले अर्थ मन्त्रालय पुगेर सहयोग रकम हस्तान्तरण गरे ।

उनीहरुले अर्थमन्त्रीलाई भेटी २५ लाख रुपैयाँको चेक बुझाएका हुन् । कलेजले विपद्को यो घडीमा देश र जनताप्रतिको सामाजिक उत्तरदायित्व आत्मसात् गर्दै सहयोग जारी राख्ने जनाएको छ ।

आर्थिक सहयोगसँगै कलेजले बाढीपीडितको स्वास्थ्य उपचारमा पनि विशेष व्यवस्था गरेको छ । बाढी प्रभावित क्षेत्रबाट आएका बिरामीको गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निःशुल्क उपचार गरिने जानकारी अध्यक्ष खुमाप्रसाद अर्यालले दिए ।

कलेजले यसअघि नै प्रभावित क्षेत्रहरुमा आवश्यक औषधिहरु समेत पठाइसकेको छ ।

मानवीय सेवाको यो अभियानमा कलेजले देखाएको सक्रियता प्रशंसनीय देखिएको छ । प्रभावित नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले औषधोपचार र नगद सहयोग दुवैलाई जिएमसीले सँगसँगै अगाडि बढाएको छ ।

Exit mobile version