दिपक के श्रेष्ठः जिल्ला प्रहरी कार्यालय कास्कीभित्र उजुरी बोकेर भित्रिनेमध्ये ६० प्रतिशतको गोजीमा बाउन्स भएको चेक हुने गरेको छ ।
चेक बाउन्स (चेक अनादर)को उजुरी प्रहरीमा गर्न मिल्ने र कारवाही प्रक्रिया अघि बढ्ने कानूनी प्रावधान सुरु भएपछि जिप्रका कास्कीमा दैनिक उजुरीको चाङ लाग्नु स्वभाविक भएको त्यहाँ कार्यरत प्रहरी बताउँछन् ।
पछिल्लो समय अपराधको तथ्यांकमा चेक बाउन्सको ग्राफ उकालिएको छ भने दैनिक १० जनाको हाराहारीमा पीडितहरु प्रहरी कार्यालय धाउन थालेका छन् ।
बैंकिङ् कसुर तथा सजाय ऐनले प्रहरीलाई अख्तियारी दिएपछि जिप्रका कास्कीमा यससम्बन्धी हेर्ने छुट्टै शाखा गठन गरिएको छ । शाखामा कार्यरत अधिकृत र कर्मचारीको व्यस्तता समेत चेक बाउन्सको उजुरीले ह्वात्तै बढाइदिएको छ ।
जिप्रकाका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार हाल अनुचित लेनदेन (मिटर ब्याज)को मुद्धासमेत जिल्ला प्रशासन कार्यालयबाट प्रहरीतिरै सारिएको छ ।
चेक बाउन्सको उजुरी काठमाण्डौंपछि पोखरामा बढी परेको तथ्यांक छ । त्यस्तै, उजुरीमाथि अनुसन्धान गर्न कार्यालयले जनशक्ति र प्रविधि दुबैको जोहो गरेको छ ।
पछिल्लो समय कास्कीमा चेक बाउन्सको मुद्धा सबैभन्दा धेरै छ । वैशाख मसान्तमामात्रै कास्की प्रहरीले चेक अनादरको मुद्धामा ४३ जनालाई पक्राउ गरेको थियो ।
उनीहरु प्रायः अदालतबाट कैद तथा जरिवाना भुक्तान भई फरार रहेका थिए ।
चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनुपर्छ । यसरी कुनै पनि बैंकमा भुक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारणसहित बैंकबाट भुक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक बाउन्स हो । चेक जारी गरेपछि खातावालले खाता बन्द गरेमा पनि चेक बाउन्स हुनसक्छ ।
कुनै पनि चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भए पनि पर्याप्त रकम छैन भनी जानीजानी चेक काटिदिएमा (चेक धारक अर्थात्) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको खण्डमा अर्थात् कुनै पनि बैंकले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था चेकअनादर हो ।
प्रहरीले उपलब्ध गराएको सूचनाअनुसार यस आर्थिक वर्षको जेठसम्म चेक बाउन्समा उजुरी पर्ने र पक्राउ गरिएको एकमुष्ट विवरण तयार पारिँदैछ । यसअघि एउटै व्यक्तिको नाममा १ करोड ६८ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दा कास्की प्रहरीमा परेको थियो ।
‘जग्गाको कारोबारसम्बन्धी चेक लिने–दिने, सापटी चलाउने, व्यापार व्यवसायमा चेकमार्फत कारोवार गर्दा धोखाधडी भएको उजुरीमा उल्लेख छ’ प्रवक्तासमेत रहेका बस्नेत भन्छन् ‘विदेश पठाइदिने भन्दै रकम लिने र नसकेपछि चेक दिँदा बाउन्स भएका उजुरी पनि थुप्रै छन् ।’
चेक बाउन्सको उजुरीपछि प्रहरीले बैंकिङ् कसुर तथा सजाय ऐनमार्फत मुद्दा अघि बढाउने गरेको छ । जस अन्तरगत खातामा मौज्दात नभएपनि जानाजानी चेक काटिदिएपपछि कसुर ठहर्ने उल्लेख छ ।
यद्यपि, महान्यायधिवक्ताको कार्यालयले प्रहरीमा उजुरी परेपनि दुबै पक्ष भेला भई लेनदेन सल्टाएमा उक्त मुद्दा अघि नबढ्ने उल्लेख छ भने अदालतमै मुद्दा पुगेपनि फैसलापूर्व रकम चुक्ता गरे मुद्दा निष्क्रिय हुनेछ ।
त्यस्तै, हदम्यादको हकमा जाहेरी दिने अवधि कसुर भएको थाहा भएको मितिले १ वर्षभित्र र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोेकिदिएको अदालत (उच्च अदालत)समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।
प्रहरीले भने एकैपटक वा पटकपटक गरी १ पटकमा ७ दिन नबढ्ने गरी ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ ।
सजायको हकमा दोहोरो कानूनी व्यवस्था गरिएको छ । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क) ले चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यबस्था गरेको पाइन्छ ।
त्यस्तै, बैंकिङ्ग कसूर तथा सजायँ ऐन, २०६४ को दफा १५ (१) ले बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने भन्ने व्यबस्था गर्नुका साथै दफा १७ ले कसूर भएको कुरा थाहा पाएको मितिले १ बर्ष भित्र जाहेरी दिन सकिने व्यबस्था गरेको छ ।
जसकारण चेक अनादर विरुद्ध दुबै ऐन आकर्षित हुने देखिएको पाइन्छ। यस सन्दर्भमा पीडित व्यक्तिलाई उपचारको कुन बाटो उपयुक्त लाग्छ, त्यही अनुसार गर्ने गरिएको पाइएको छ ।