पर्यटनको राजधानीमा पर्यटक प्रहरीको ठेगाना ‘टहरो’

दिपक के श्रेष्ठ

पोखराको रत्नपुरी, पार्दी एरिया सरकारी भीआइपी क्षेत्र हो । मुख्यमन्त्री, मन्त्री निवासदेखि गण्डकी प्रदेश प्रहरी गण, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरको शिक्षा महाशाखासमेत सोही क्षेत्रमा पर्दछ ।

भीआइपी निवाससँगै पोखराको लेकसाइड र ड्यामसाइड क्षेत्र त्यहीबाट छुट्टिन्छ । र, भेटिन्छन् बग्रेल्ती होटल र रेष्टुरेन्टहरु । यही लहरमा देखिने अर्काे दृश्य हो कास्कीको पोखरा पर्यटन प्रहरीको कार्यालय । ‘कार्यालय’ केवल बोर्डमा लेखिएको शब्द हो । असलीमा यसलाई मुस्किलले ‘टहरो’ भन्न मिल्छ ।

यही टहरोबाट पर्यटन प्रहरीले आफ्नो कत्र्तव्य निभाइरहेका छन् । ३ कोठाको टहरोमा टिनको छानो छ, जसले घाम त छेक्छ तर वर्षाद्मा निरिहता देखाउँछ । यस याममा प्रहरीको काम खाट र टेबल जोगाउन प्लाष्टिकका बाटा र बाल्टी थाप्ने हुन्छ । टहरो बाहिरबाट हेर्दा हल्का रंगरोगनले त पोतिएको छ तर भित्री भागकोे तस्बिर खिच्न क्यामराको लाइटले पनि मुस्किल पर्छ ।

पर्यटकहरु कुनै गुनासो वा सहयोग माग्न कार्यालय पुगे भने कतैबाट निगाहमा पाएको थोत्रा सोफा र कभर उध्रिएका कुर्सीले आतीथ्यता गर्छ । ४ जना भन्दा बढी पर्यटक एकैपटक पुगे बस्ने ठाउँ छैन । उनीहरुले बोकेका झोला बिसाउने ठाउँ नहुँदा हालै बासको फलैंचा बनाएर इज्जत जोगाउने प्रयास गरिएको छ ।

भित्रपट्टीको एउटामात्र सुत्ने कोठामा घाम छिर्दैन । झ्यालको खापा छैन, पुराना कपडाको टालोलाई पर्दा बनाइएको छ । उस्तै अँध्यारो तर सानो किचनमा चियासम्म पकाउन मिल्छ । त्यहाँ धारा, बेसिन छैन । एउटा शौचालयले पुरुष, महिला प्रहरी र पर्यटक सबैलाई सेवा दिएको छ । त्यहाँ उदांगो झ्याललाई उस्तै पुरानो र मैलो टालोले बारिएको छ ।

पानीको जोहो गर्ने रिजर्भ ट्यांकी नहुँदा तिर्तिरे धारोकाे पानी बाल्टी र बाटामा थापेर राख्नुपर्छ । पुरुषले त जेनेतेन काम चलाएका छन्, महिला प्रहरीको दैनिकी कल्पनामात्र गर्न सकिन्छ ।

दुई महिनाअघि कार्यभार सम्हाल्न आएका निरीक्षक तहका कार्यालय प्रमुखले सुनाएको घटना निकै पेचिलो छ । मध्यान्हको समय एक अमेरिकी पर्यटक कार्यालय आएछन् । गफगाफ हुँदै गर्दा प्रमुखले चिया बनाउन भनेपछि सहयोगीले पकाएर ल्याएछन् । कुराकानीपछि पर्यटक निस्किए । तत्कालै फर्किएका उनले चारवटा ठूला मग ल्याएर दिएछन् ।

वास्तवमा ती मगहरु पर्यटकले केही क्षणअघि नेपाल पर्यटन बोर्डलाई उपहार दिएका रहेछन् । बोर्डको कार्यालयबाट निस्केर पर्यटक प्रहरीको कार्यालय छिरेका उनले त्यहाँको बिजोग देखेर उपहार दिएको मगपनि फिर्ता मागेर यता दिएका रहेछन् ।

‘थाहा त भइहाल्छ तर नामै त नलेख्नु’ भन्दै प्रमुखले दैनिकी कठिन भएपनि आवश्यक सामग्री र उपकरणको अभावमा पाेखरा वरपर दैनिक कामदेखि पदमार्गमा उद्दारलगायतका भूमिका निभाउन कठिन भएको बताए । कास्कीमा पर्यटक प्रहरीकोे कार्यक्षेत्र धम्पुस, बिरेठाँटी र घान्द्रुकसम्म छ । ३० जनाको दरबन्दीले भ्याउन मुस्किल परेको सुनाउँदै उनले भने ‘फेरि जनशक्ति थपेर पनि उनीहरुलाई व्यवस्थापन गर्न समस्या छ ।’

उनले कार्यभार सम्हालेको २ महिनामा चारवटा उद्दार गरेको सुनाए । मर्दी हिमालसम्म पुगेर उद्दार गरेपछि अभावको लिष्ट पनि थपियो । उनले भने ‘हामीसँग न्यानो र बलियो कपडा पनि छैन । डाउन ज्याकेट, ट्रेकिङ बुट, रुकस्याकसँगै माउन्टेनरिङ् गियरहरु अत्यावश्यक रहेछ ।’

पोखरा भित्र कार्यालयसँग भएको मोटरसाइकल, सोलार साइकलले काम चलेपनि कठिन पदयात्राको क्षेत्रमा कठिन हुने गरेको उनको अनुभव छ । उक्त स्थानमा त्यहाँ रहेका प्रहरी र स्थानीयसँग उनीहरुले सहयोग माग्दा रहेछन् ।

त्यसो त पर्यटन प्रहरीसँग एउटा निसान कम्पनीको गाडी पनि छ तर साह्रै पुरानो । गाडी मर्मत गरेको मात्रै २ लाख रुपैयाँ बुझाउन बाँकी रहेको उनले बताए । जसको खर्च केन्द्रको पर्यटन प्रहरी विभागले व्यहोर्छ । मासिक १ सय लिटर तेल भने नजिकै रहेको पर्यटन बोर्डले दिने गरेको उनी बताउँछन् ।

अघिल्लो वर्षको चैतमा प्रधानमन्त्री पुष्पकमल दाहालले यहाँ आएर पोखरालाई पर्यटनको राजधानी भनि सगर्व घोषणा गरी फर्किए । त्यसयता पोखरा महानगरका मेयर, पर्यटन उद्यमी र प्रदेश सरकार सबैले त्यही शब्द रटान लगाइरहे पनि पर्यटकलाई सेवा दिने प्रहरीको कार्यालय भने टहरोभन्दा माथि उठ्न सकेको छैन ।

०६३ सालमा औपचारिकरुपमा स्थापना भएको पोखराको पर्यटन प्रहरी कार्यालय त्यही टहरो हो, जुन त्यसअघि पर्यटन बोर्डको गोदाम रहेको थियो । हालसम्म पनि कार्यालयको कुनाकुानीमा गोदामको गन्ध हटिसकेको छैन ।

‘पर्यटनकै राजधानीमा यसरी कतिञ्जेल चल्छ ?’ प्रमुखको जवाफ छ ‘हामी यहाँ छौं, यस विषयमा जानकारी गराउँदा तपाइहरु केन्द्रको मातहतमा हो भन्ने जवाफ आउँछ । केन्द्रमा जानकारी त छ तर प्रदेश र स्थानीय निकायले सघाउँछ भन्ने विश्वासमा छ ।’

पोखरास्थित पर्यटनसँग सम्बन्धित दर्जन हाराहारीका संस्था र पोखरा महानगरपालिकाले आगामी दिन सहयोग पुग्ने उनको विश्वास छ । ‘यहाँ आएपछि मैले सम्बन्धित सम्पूर्ण निकायमा मौखिकरुपमै भएपनि हाम्रो अवस्थाबारे जानकारी गराएको छु, सहयोग पक्कै पाइएला’ उनी आशावादी सुनिए ।

हाल कार्यालय नजिकै भाडामा लिएको घरमा पर्यटन प्रहरीहरु बस्दै आएका छन् । पर्यटन प्रहरीलाई जग्गाको व्यवस्था गरिदिए विभागले भवन निर्माण गरिदिनेछ । तर यतापट्टि लबिङ् हुनसकेको छैन । ‘हाललाई धेरथोर पैसा जुटाएर यही टहरो मर्मत गर्न पाए बर्खामास पानी चुहिने समस्याबाट छुट्कारा पाइन्थ्यो’ उनले दुखेसो पोखे ।

त्यसो त अभावकैबीचमा पनि आफ्नो टिम दक्ष रहेको प्रमुख बताउँछन् । यसबीच ७ वटा भन्दा बढी पर्यटकसम्बन्धित मुद्दा प्रक्रियामा रहेको, ओभरस्टे गर्ने पर्यटक पहिचान गरि बैदाम प्रहरीलाई बुझाएको, पर्यटकमाथि हुने दूव्र्यवहार, लुटपाटलगायतमा संलग्न हुनेलाई पक्राउ गरी कारवाही थालिएको र दैनिक ७ वटा समूहको हाराहारीमा आउने पर्यटकबाट उजुरी लिई एक्सनमा गएको उनले जानकारी दिए ।

पर्यटकलाई काठमाण्डौंमा सहज सेवा पु¥याउने र उनीहरुको बदमासी रोक्ने हेतुले ०३५ सालमा पर्यटक प्रहरीको छुट्टै विभाग स्थापना गरिएको हो । पोखरामा भने ०६४ सालदेखि पर्यटक प्रहरी कार्यरत छ ।

राजधानी बाहिरको हकमा पोखरा पहिलो कार्यालय हो ।

Exit mobile version