अमेरिकाबाट सहयोग बोकेर नेपाल उत्रियो सेनाको २ कार्गाे विमान

रसुवामा गत अगस्ट २६ मा आएको विनाशकारी भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई थप मानवीय तथा विपद् उद्धार सामग्री सहयोग गरेको छ।

अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत आज ५ हजार थान विशेष विपद् पीडित उद्धार सामग्री, ५ सय प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडर नेपाल ल्याइएको हो। उक्त सामग्री नेपाल नेतृत्वको खोज, उद्धार तथा पुनःस्थापना अभियानमा प्रयोग गरिने जनाइएको छ।

नेपाल सरकारको अनुरोधअनुसार उक्त सहयोग उपलब्ध गराइएको हो। यसअघि अमेरिकाले बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि ३६ लाख अमेरिकी डलर बराबरको सहयोग घोषणा गरिसकेको छ ।

अमेरिकाले पछिल्लो सहयोगलाई नेपाल–अमेरिका दीर्घकालीन साझेदारीको निरन्तरता भन्दै विपद्बाट प्रभावित समुदायलाई सहयोग गर्ने साझा प्रतिबद्धता रहेको जनाएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि नेपालमा खोज, उद्धार तथा राहतका काम जारी छन्।

Exit mobile version