कप्तानगञ्जमा गृहमन्त्रीः मृतकको परिवारसँग सहमति, कानूनी शासनमा प्रतिबद्ध

गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण प्रतिवद्ध रहेको जनाएका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग गएराति सहमति भएसँगै आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले आवश्यक निर्णय र कार्यान्वयन छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढाइने प्रतिवद्धता समेत जनाएका छन् ।

उनले भनेका छन् ‘ दुःखद घटनामा ज्यान गुमाउनु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहता प्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सरकार पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउँदछ।’

गृहमन्त्री गुरुङले सहमतिअनुसार मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गरिने, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने र मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गरिनेसहितका सहमति भएको उल्लेख गरेका छन् ।

सहमतिअनुसार मृतकको आजै अन्तिम संस्कार गरिने भएको छ ।

Exit mobile version