‘गणतन्त्रको सार जनताको सर्वोच्चतामा निहित छ’ मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत व्यक्त शुभकामनामा पाण्डेले ‘गणतन्त्रको सार जनताको सर्वोच्चतामा निहित छ । नागरिक अधिकारको ग्यारेन्टी, शासकीय पारदर्शिता, जवाफदेहिता, समावेशिता र विधिको शासन गणतन्त्रको मेरुदण्ड हुन्’ भनेका छन् ।

मुम पाण्डेको शुभकामनाको सारः

गणतन्त्र दिवस, २०८२ को अवसरमा आदरणीय गण्डकी प्रदेशवासी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो जिवन उत्सर्ग गर्नुहुने अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाईते, अपाङ्गता हुनुभएका नागरिकको स्वास्थ्य लाभको कामना सहित योगदानको उच्च सम्मान व्यक्त गर्दछु ।

गणतन्त्रको सार जनताको सर्वोच्चतामा निहित छ । नागरिक अधिकारको ग्यारेन्टी, शासकीय पारदर्शिता, जवाफदेहिता, समावेशिता र विधिको शासन गणतन्त्रको मेरुदण्ड हुन् । हाम्रो संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक संरचनामा तीनै तहका सरकारहरु; संघ, प्रदेश र स्थानीय तह आ-आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । गण्डकी प्रदेश सरकारले संघीयताको मर्म अनुसार विकेन्द्रीकरण, सहभागिता र समावेशी शासन प्रणालीलाई मजबुत बनाउँदै संविधानको कार्यान्वयनमा महत्वपूर्ण प्रयत्न गर्दै आइरहेको छ ।

गणतन्त्र दिवसले हामीलाई सामाजिक न्याय, आर्थिक समानता, विकास र समृद्धिको मार्गमा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ । गणतन्त्रको सार्थक कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाई, स्वच्छ खानेपानी, पूर्वाधार विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण र सामाजिक सुरक्षालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नु आजको प्रमुख चुनौती हो । यस सन्दर्भमा प्रदेश सरकारले “आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी” भन्ने मूल दृष्टिकोण अनुरूप अग्रगामी नीति, कार्यक्रम र बजेट मार्फत सामाजिक रूपान्तरण र आर्थिक विकासलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ ।

राजनीतिक स्थायित्व, सुशासन, सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता, भ्रष्टाचार नियन्त्रण, लैङ्गिक समानता, सामाजिक समावेशिता र समृद्धिको सुनिश्चितता गणतन्त्रको वास्तविक प्रत्याभूति हुन् । यो प्रणालीलाई संस्थागत गर्दै राज्य संरचना र नेतृत्वलाई जनउत्तरदायी, पारदर्शी र सहभागितामूलक बनाउन सबै नागरिक, राजनीतिक दल, राज्यका निकायहरू, नागरिक समाज र सञ्चार माध्यमहरूको साझा भूमिकाको आवश्यकता छ ।

यस दिवसले नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र लोकतान्त्रिक मूल्यको सुदृढीकरण गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको छु । समावेशी विकास, सामाजिक सद्भाव, न्यायपूर्ण समाज र समृद्ध भविष्य तर्फको हाम्रो यात्रामा मार्गदर्शन गर्नेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा, गणतन्त्र दिवस २०८२ को यस विशेष अवसरमा पुनः सम्पूर्ण प्रदेशवासी एवं नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद । जय नेपाल ।

Exit mobile version