ब्रोड पिकमा चार शव भेटिए, निम्स दाईको अवस्था अज्ञात

पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार झरेको हिमपहिरोपछि बेपत्ता भएका निर्मल पुर्जा निम्स दाईसहित विभिन्न देशका पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

पछिल्लो विवरणअनुसार घटनास्थलबाट चार जनाको शव फेला परेको छ। यद्यपि, ती शव कसका हुन् भन्ने राष्ट्रियता अहिलेसम्म पुष्टि नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेल (खडक राज)ले शुक्रबार सामाजिक सञ्जालमार्फत् दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे आफू नियमित रूपमा जानकारी लिइरहेको बताएका छन्। उनले हालसम्म चार शव फेला परे पनि उनीहरूको राष्ट्रियता पुष्टि हुन बाँकी रहेको जानकारी दिएका छन्।

यसका साथै हेलिकोप्टरसहितका उद्धार टोलीले प्रतिकूल हिमाली परिस्थितिका बीच खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गरेका छन्।

मन्त्री पौडेलले पाकिस्तान सरकारसँग नियमित सम्पर्कमा रही घटनाको अद्यावधिक जानकारी लिइरहेको जनाउँदै बेपत्ता सबै आरोही सकुशल फर्किने आशा व्यक्त गरेका छन्।

Exit mobile version