पोखराकी व्यवसायी मिलन थापाले आजको दिनलाई भावुक भएर सम्झेकी छिन् ।
हिमालयन अर्गनाइजेशनकी प्रबन्ध निर्देशक थापाले जेनजी विद्रोहको नाममा भोग्नुपरेको पीडालाई सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।
उनले लेखेकी छिन् ‘त्यो दिन, आफ्नो बासस्थान मात्र गुमाएका थिएनौं, हामीले,जीवनका धेरै अमूल्य सम्झनाहरू गुमाएका थियौँ।’
उनै थापाले लेखेको भावः
आज भाद्र २४ गते‘
घर जल्यो, भत्कियो, तर हिम्मत जलेको छैन।
धन सम्पत्ति गुम्यो, तर आशा गुमेको छैन।
सम्झनाका चिनोहरू खरानी भए, तर सपना खरानी भएको छैन।
एक वर्षअघि आजकै दिन।
आफ्नै पसिना, परिश्रम र जीवनभरको कमाइले बनाएको बासस्थान तथा कार्यालय भवन आफ्नै आँखाअगाडि आगोको लप्कामा विलीन भएको त्यो कहालीलाग्दो दिन। त्यो दिन सम्झिँदा आज पनि मन भारी हुन्छ।
आगो केवल घरमा लगाइएको थिएन, हाम्रो वर्षौंको सपना, मेहनत, पसिना र जीवनका असंख्य सम्झनाहरूमा लगाइएको थियो।
झन्डै सपरिवार त्यही आगोभित्रै जलेर समाप्त हुनबाट मुस्किलले बचेको त्यो क्षण‘ आज पनि सम्झिँदा शरीर सिरिङ्ग हुन्छ। अझै पीडादायी कुरा—हाम्रो घरमा काम गर्न बसेकै कारण एउटी निर्दोष बहिनीले आफ्नो अमूल्य जीवन गुमाउनु परेको त्यो दुःखद सत्य।
त्यो क्षण सम्झँदा यो मनले आज पनि प्रश्न गरिरहेको छ—’राजनीतिमा कहिल्यै जिम्मेवार भूमिकामा नबसेका हामीले जेन्जी विद्रोहका नाममा किन यति ठूलो मूल्य चुकाउनुपर्यो?’
त्यो दिन कहिल्यै सम्झन नपरे हुन्थ्यो जस्तो लाग्छ तर केही घटनाहरू जीवनका पानाबाट मेटिँदा रहेनछन्। समय बित्दै जान्छ, घाउ पुरानो हुँदै जान्छ, तर केही पीडाहरू सम्झनासँगै मनभित्र जीवित रहिरहन्छन्।
त्यो दिन, आफ्नो बासस्थान मात्र गुमाएका थिएनौं, हामीले,जीवनका धेरै अमूल्य सम्झनाहरू गुमाएका थियौँ।
त्यो पीडा बोकेर फेरि उठ्नु सजिलो थिएन।
तर जीवनसँग सम्झौता गर्नुपर्दो रहेछ किनकि जतिसुकै ठूलो विपत्ति आए पनि जीवन रोकिँदैन रहेछ।
आज एक वर्ष बितिसकेको छ। हाम्रो त्यो घर अझै पूर्ण रूपमा पुनर्निर्माण भइसकेको छैन त्यसैले आज पनि एक साथीले माया र सद्भावका साथ उपलब्ध गराउनु भएको अपार्टमेन्टमा बसिरहेका छौँ।
गाह्रो अवश्य भइरहेको छ तर तपाईँ शुभचिन्तकहरूले दिनुभएको उत्साह र हौसलाले फेरि लडखडाउँदै अगाडि बढिरहेका छौं। फेरि मेहनत गर्दैछौँ। फेरि सपना देख्दैछौँ। किनकि फेरि दौडिनु छ तर आज आफ्नो त्यो पीडादायी दिन सम्झिँदै गर्दा, एक वर्ष पनि नपुग्दै देशले फेरि अर्को भयावह दिन भोग्नुपरेको छ।
त्यतिबेलाको विपत्ति भन्दा पनि बढी, आज फेरि कैयौँ नेपालीहरू घरबारविहीन भएका छन्। कैयौँले आफन्त गुमाएका छन्। कैयौँ परिवारको जीवन एकैछिनमा तहसनहस भएको छ।
हामीले एक वर्षअघि भोगेको पीडा सम्झिँदा, आज ती परिवारको पीडा कस्तो होला भनेर कल्पना गर्न पनि गाह्रो हुन्छ।
हिजो हामी राजनीतिक प्रकोपको भुमरीमा परेका थियौँ। आज फेरि प्राकृतिक प्रकोपले कैयौँ नेपालीको जीवनमा कहिल्यै नमेटिने घाउ छोडेको छ। विपत्ति फरक हुन सक्छ। कारण फरक हुन सक्छ। तर पीडा एउटै हुन्छ—आफ्नो घर गुमाउनुको पीडा, आफ्ना मान्छे गुमाउनुको पीडा, र भोलि कसरी सुरु गर्ने भन्ने अनिश्चितताको पीडा।
यही पीडा भोगेको एक नेपालीको हैसियतले आज विपत्तिमा परेका सबै दाजुभाइ तथा दिदीबहिनीहरू प्रति मेरो मनदेखि नै सहानुभूति छ। उहाँहरूको दुःखमा हामीले थोरै भएपनि साथ दिन कोसिस गरेका छौं।
अन्तमा,
हामी नेपाली हौँ।
हामीले गुमाउन सक्छौँ, तर फेरि निर्माण गर्न छोड्दैनौँ।
हिजो पनि हामी उठेका थियौँ।
भोलि फेरि हामी सबै मिलेर उठ्नेछौँ।
अँध्यारो रातपछि फेरि बिहान आउँछ।
हामीले गुमाएका कुराहरू कहिल्यै फर्केर नआउन सक्छन्।
तर हामीसँग अझै बाँकी रहेको जीवन छ, आशा छ, साहस छ र एकअर्काको साथ छ।
हामी नेपाली हौँ।
हामी फेरि उठ्नेछौँ।
