ब्याज मिनाहा र ऋण नवीकरण गरिदिन बाढी पीडित व्यवसायीको माग

भोटेकोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ ।

बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजार आठ सय भन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रूपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग समेत गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलमा बाढी पीडित व्यवसायीहरूले पुनः व्यवसाय सञ्चालनको वातावरण तत्काल निर्माण गर्न माग गरेका हुन् ।

उनीहरूले बाढीले क्षति पुर्‍याएका सबैजसो उद्योग तथा व्यवसायहरू बैंकमार्फत ऋण लिएर लगानी गरेको कारण थप समस्यामा परेको दुखेसो पोखेका छन् । एक बाढीपीडित व्यवसायीले सरकारले बाढीपीडित व्यवसायीहरूले लिएको ऋणको नवीकरण तथा ऋण मिनाहा गरिदिनुपर्ने माग राखे ।

अर्का बाढीपीडित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्नुपर्ने तथा बीमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल भुक्तानी गरिदिन पहल गर्नको लागि अध्यक्ष ढकाललाई आग्रह गरे ।

बाढी पीडित उद्योगी व्यवसायीहरूसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकालले बाढीबाट प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

पूर्वअध्यक्ष ढकालले बाढीपीडित उद्योगी व्यवसायीको ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

Exit mobile version