१५ बेरोजगारलाई समेटेर पोखरामा ठगी धन्दा चलाउने भारतीय र नेपाली पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा अनलाइन स्क्याम र ठगीमा संलग्न भारतीय नागरिकसहित दुईजनालाई ९ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।

एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने भन्दै प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर नगरपालिका नम्बर १२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद यासिर छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई ८ साउनमा पोखरा महानगरपालिका–५ प्रस्याङबाट नियन्त्रणमा लिएको हो । उनीहरुले स्थानीय पुष्पेन्द्र कोइरालाको घर भाडामा लिएर अवैध धन्दा चलाउँदै आएका थिए ।

प्रहरीका अनुसार उनीहरुले ‘ओसिस टुरिजम इन्टरनेशनल’ नामको संस्था स्थापना गरेका थिए । सोही संस्थामार्फत १५ जना युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई काममा लगाएर अनलाइन तथा फोनबाट ठगी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले सर्वसाधारणलाई एसिया र युरोप घुमाउने प्रलोभन देखाएर ‘३ रात ४ दिन’ को होलिडे भाउचर भर्न लगाउने गरेका थिए ।

हालसम्म ३० जनाभन्दा बढी व्यक्तिलाई ठगी गरी ९ लाख ६५ हजार रुपैयाँ संकलन गरिसकेको प्रहरीले जनाएको छ । ‘उनीहरुले कुपन भर्न लगाई नगद रकम उठाउने गरेका थिए,’ प्रहरीले भनेको छ । १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई वैध काम भन्दै यस प्रकारको अवैध क्रियाकलापमा संलग्न गराइएको पनि खुलेको छ ।

प्रहरीले उनीहरुको कार्यालयबाट ठगीमा प्रयोग भएका विभिन्न सामग्रीहरु बरामद गरेको छ । बरामद सामग्रीमा २ थान कम्प्युटर मनिटर र ८ थान विभिन्न रजिष्टर तथा रेकर्ड बुक रहेका छन् । त्यसैगरी ६ थान कुपन रसिद, ४ थान स्ट्याम्प छाप र विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टीहरु पनि फेला परेका छन् ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार शुक्रबार ८ साउन दिउँसो २ बजेको समयमा उनीहरुलाई प्रस्याङबाट नियन्त्रणमा लिइएको हो । ।

Exit mobile version