कास्की प्रहरीले पोखरामा अनलाइन जुवा तथा सट्टेबाजी गराएको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित एक घरमा छापा मारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा र ७ जना भारतीय नागरिक रहेका छन् ।
भारतीय नागरिकहरूमा ३४ वर्षीय सत्यम सिंह, २४ वर्षीय हर्ष उसरेटै, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपुत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूले सफ्टवेयरको काम गर्ने भन्दै ०८२ चैत १८ देखि स्थानीय जीवन श्रेष्ठको ७ वटा कोठा भएको घर भाडामा लिएर यस्तो गतिविधि सञ्चालन गरेका थिए ।
उनीहरूले ‘गुरुभाई२४७.प्रो’ नामक लिंकमार्फत टेलिग्राम र ह्वाट्सएपका ग्रुपहरू प्रयोग गरी सट्टेबाजीका लागि रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा यो समूहले क्रिकेट, फुटबल र क्यासिनोका गेमहरूमा सट्टेबाजी गराउने गरेको खुलेको छ । उनीहरूले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म कमाउने गरेको र भारतीय नागरिककै बैंक खाताहरू भाडामा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
यो मुख्य सञ्चालन भारतीय रहेको र नाम नखुलेको २७ औँ ब्रान्चका रूपमा सञ्चालनमा रहेको देखिएको छ ।
प्रहरीले बरामद गरेको कम्प्युटरको सिटमा १ करोड ११ लाख ९९ हजार ११८, ९ लाख २ हजार २२६ र १० करोड ५५ लाख ६८ हजार ६९० सम्मको क्रेडिट देखिएको छ ।
खानतलासीका क्रममा प्रहरीले उनीहरूको साथबाट ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल, ९ थान किबोर्ड, ४ थान मल्टिप्लग, १ थान १२ भोल्टको ब्याट्री, १ थान युपीएस, २ थान राउटर, १६ थान चार्जर र ३४ थान भारतीय सिमकार्ड बरामद गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उक्त स्थानमा छापा मारेको हो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
