पोखरा । पोखरामा यू–१६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता–२०८३ सुरु भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव शर्माले गण्डकी प्रदेशमा खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि परिषद् प्रतिबद्ध रहेको बताए ।
उनले खेल क्षेत्रमा योगदान पुर्याउने खेलाडी तथा संघसंस्थाको सम्मान गर्दै प्रदेश खेलकुद पदक प्रदान गर्न लागिएको उल्लेख गर्दै उनले जुनियर तथा सिनियर खेलाडीको योगदानको कदर गर्दै उनीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न सबै पक्षसँग आग्रह गरे ।
गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्य, कोषाध्यक्ष शान्ता सिंह बस्नेत ‘कृष्ण’, जिल्ला खेलकुद समिति कास्कीका सदस्य डिल्लीजङ्ग गुरुङ, केन्द्रीय सदस्य विशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिताको पहिलो दिन छात्रतर्फ ६ र छात्रातर्फ ४ गरी कुल १० खेल सम्पन्न भएका छन् । असार २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा भइरहेको छ । प्रतियोगितामा छात्रतर्फ १३ र छात्रातर्फ ९ गरी कुल २२ टोलीको सहभागिता रहेको छ ।
