चन्द्रबहादुर र एरिका वर्षका उत्कृष्ट खेलाडी

काठमाडौँ । बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ का सर्वश्रेष्ठ खेलाडी बनेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले बिहिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा आयोजना गरेको स्पोट्र्स अवार्डको २३ औँ संस्करण कार्यक्रममा चन्द्रबहादुरले वर्षका उत्कृष्ट पुरुष र एरिकाले वर्षकी उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् । एरिका लगातार तेस्रो पटक वर्ष महिला खेलाडी घोषित भएकी हुन् । 

यसैगरी कराँतेकी मनिषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी, कराँतेका कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र भलिबलकी मिना सुनारले पिपल्स च्वाइसको अवार्ड जिते । यी पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पुरस्कार प्राप्त गरे । यसैगरी अन्य चार विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानितलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरियो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा काश्य पदक जितेर इतिहास बनाएपछि चन्द्रबहादुर उत्कृष्ट वर्ष खेलाडीको हकदार बनेका हुन् । उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक्लो नेपाली बक्सर हुन् । यस अवार्डका लागि दीपेन्द्रसिंह ऐरी (क्रिकेट, सोमबहादुर कुमाल (एथ्लेटिक्स), प्रदीप बैजाली मगर (कराते) र सद्भाव आचार्य (गल्फ) पनि मनोयनमा परेका थिए । गोल्छा समूहका अध्यक्ष अमिताभ अग्रवालले चन्द्रबहादुरलाई अवार्ड प्रदान गरे ।

वर्षकी उत्कृष्ठ महिला खेलाडी २०८२ विधामा एरिकाले करातेकै सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी साबित्रा भण्डारी (साम्बा) लाई पछाडि पारिन् ।

एरिकाले गतवर्ष मोरक्कोको रावतमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा काश्य पदक जित्न सफल भएकी थिइन् । टर्कीको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिग रजत पदक, चीनमा सम्पन्न डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जितेकी थिइन् ।

मनिषा उत्कृष्ट युवा खेलाडी

करातेकी मनिषा कुमारी बोहरा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको उत्कृष्ट युवा वर्ष खेलाडी बनेकी छन् । उक्त विधामा करातेका रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव मनोनयनमा परेका थिए । 

गत वर्ष मनिषाले चिनमा भएको एसियन २३औं क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा काश्य पदक जितेकी थिइन् । श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा मनिषाले नेपाललाई दुई स्वर्ण पदक दिलाइन् । 

कुशल उत्कृष्ट प्रशिक्षक

अन्तर्राष्ट्रिय कराँतेमा एरिकालाई सफलता माथि सफलता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक कुशल श्रेष्ठ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । गत वर्ष रेहान जाबेद र मनिषा कुमारी बोहोराको उपलब्धिमा पनि उनको विशेष योगदान रहेको थियो । कुशलले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड जितेको यो दोस्रो पटक हो । दुई वर्ष अगाडीको २१ औं संस्करणमा पनि उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । 

यस विधामा बक्सिङका दीपक महर्जन, करातेका मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेट प्रशिक्षक पुरन सिंह खत्री मनोनयनमा थिए । 

सुषमालाई पारा एथलिट सम्मान

नेपाललाई प्रथम दृष्टिविहिन महिला टी २० क्रिकेट को फाइनलसम्म पुर्याउन विशेष योगदान दिने सुषमा तामाङलाई पारा एथलेट सम्मान २०८२’ सम्मान प्रदान गरिएको छ ।

सुषमा पुर्णरुपमा दृष्टि गुमाएकी अर्थात बी वान क्याटगोरीकी क्रिकेट। हुन् । भारत र श्रीलंकाको सहआयोजनामा भएको पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणमा नै नेपाल उपविजेता बन्यो । उनी ’बी वान’ क्याटगोरीको ’प्लेयर अफ द सिरिज’ घोषित भएकी थिइन्। 

मल्ललाई स्पेसल अवार्ड

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा धु्रवविक्रम मल्ललाई स्पेसल अवार्डबाट सम्मान गरिएको छ ।

२०४८ सालमा आफुले खोलेको बालाजु कराते डो एकेडेमीमार्फत मल्लले एक से एक उत्कृष्ट अन्तर्राष्ट्रिय कराते खेलाडीहरु जन्माएर आफूलाई अब्बल प्रशिक्षक सावित गरेका छन् । एसियाली खेलकुदका काश्य जित्ने विमला तामाङदेखि साग खेलकुदमा स्वर्ण पदक दिलाउने दर्जनौं पदकधारी खेलाडी उनले नेपाली करातेलाई दिएका छन् । 

अल्ट्रा म्याराथन मिरा राई जस्ता विश्व चर्चित खेलाडी उनका उत्पादन हुन्। उनी खेलाडीलाई सिकाउने मात्र होइन, आर्थिक अभाव भएकाहरुलाई निशुल्क रुपमा पढाउने, हुर्काउने र अन्तर्राष्ट्रिय प्रतियोगिता सम्म पुर्याउने गरिरहेका छन् । 

शाहीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड 

.ब्याडमिन्टनमा जीवन समर्पण गर्ने कुमार मोहन बहादुर शाही एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। 

८३ वर्षीय शाही एसियाली खेलकुद खेल्ने ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन् । उनी ब्याड्मिन्टनसँगै फुटबल, टेबल टेनिस, टेनिस र ब्याडमिन्टनका उम्दा खेलाडी थिए ।

सन् १९७२ मा भएको आमन्त्रण ब्याड्मिन्टन प्रतियोगितामा शाही त्यतिबेलाका विश्व नम्बर एक खेलाडी चिनका ली लाई पराजित गरेका थिए। 

उमेरले पाकोपन भएपनि कोर्टसँगको उनको सम्बन्ध टुटेको छैन। उनी अझै ¥याकेट समातेर कोर्टमा उत्रिन्छन् । उनको यो अनवरत यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।

मीनाले जितिन् पिपल्स च्वाइस

भलिबलकी मीना सुनारले यस वर्षको पिपल्स च्वाइसको अवार्ड जितेकी छन् । खल्ती बाइ आइएमइबाट प्राप्त भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा मिना विजेता बनेकी हुन् । उनलले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गरेकी थिइन् । यस अवार्डको मनोनयनमा एमएमए फाइटर रविन्द्र ढाँट, फुटबलकी पुजा राना, कराँतेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल पनि प्रतिस्पर्धामा थिए । 

दोस्रो स्थानमा रहेका रविन्द्रले २४.५३ प्रतिशत मत र तेस्रो रहेका रहेकी सानुमायाले १८.४८ प्रतिशत मत प्राप्त गरे ।

नायकनलाई एसियन स्पोर्ट्स जर्नलिस्ट्स अवार्ड

एनएसजेसफले हरेक वर्ष एसिया भरिबाट एकजना खेल पत्रकारलाई सम्मानित गर्दै आएको छ । यस वर्ष भारतका खेल पत्रकार सबा नायकन एसियन स्पोर्ट्स जर्नलिस्ट्स अवार्डबाट सम्मानित हुनुभएको छ । अन्तर्राष्टिय स्पोर्ट्स जर्नलिस्ट फेडरेसन्स एआइपिएसका केन्द्रीय सदस्य तथा एआइपिएसका उपाध्यक्ष नायकनसँग दि हिन्दु, इन्डियन एक्सप्रेस र टेलिग्राफमा काम गरेको अनुभव छ । उहाँको अवार्ड एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले ग्रहण गरेका थिए ।

अवार्डको निरन्तरताले खेलाडीको मनोबल बढाएको छ ः मन्त्री पोखरेल

काठमाडौं, भदौ १८– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजनामा निरन्तरताले खेलाडीलाई वर्षौदेखि मनोबल दिँदै आएको बताएका छन् ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को समारोह कार्यक्रममा मन्त्री पोखरेलले यो अवार्ड वर्षौदेखि खेलाडीहरूका लागि मनोवल वृद्धिको माध्यम बनिरहेको महसुस गरेर आफ्नो मन्त्रालय उपस्थित भएको बताए । त्यसैले पनि यस किसिमको कार्यक्रम निरन्तरता आवश्यक महसुस गरेको उनले उल्लेख गरे । विषम् परिस्थितिका कारण अहिले सामान्य रूपमा आयोजना भएको अवार्ड आगामी संस्करण भव्य रूपमा मनाउने मन्त्री पोखरेलले बताएका छन् । उनले २०औं एसियन गेम्स संघारमा रहेकाले सबै खेलका खेलाडीलाई शुभकामना दिँदै राज्यले सीमित श्रोत साधन उपलब्ध गराए पनि खेलाडीले देशको नाम उचो राखेको धारणा व्यक्त गरे । खेलकुदको विशेष महत्व रहेको भन्दै मन्त्री पोखरेलले अहिले केही खेलकर्मी बाढी पीडित क्षेत्रमा पनि खटेको भन्दै प्रशंसा गरेका छन् ।

बाढी पीडितका कारण धेरै विद्यालय पूर्ण क्षति भएको र खेलकुदमा पनि त्यसको असर परेको उनले बताए । परिवार र समाज नै गुमाएको अवस्थामा खेलकुदले मानसिक स्वास्थ्यमा मनोबल बढाउने मन्त्री पोखरेलले आशा व्यक्त गरे । अहिले खेलकुद कर्मी बाढी पीडित क्षेत्रमा खटिएको हुँदा सबैलाई उनले धन्यवाद दिए । विभिन्न खेल संस्थाले विपित परिस्थितमा आर्थिक सहयोग पु¥याएको भन्दै मन्त्री पोखरेलले प्रंशसा गरेका छन् । उनले रसुवामा गएको बाढीबाट धेरै जनधनको क्षतिमा हुँदा अहिले देश विषम् परिस्थितिबाट गुज्रिरहेको र शोकमा डुबेको बताए । 

भदौ २२ गते देशको झन्डा आदी झुकाउने निर्णय गरेको जानकारी दिए । अहिले सरकार र राज्यका विभिन्न निकायहरू उद्दारमा नै केन्द्रीत भइरहेको मन्त्री पोखरेलले उल्लेख गरे । अहिले आफ्नो मातहतको मन्त्रालयको प्रभावित क्षेत्रमा शिक्षा र खेलकुदलाई कसरी अस्थायी निकासामा ध्यान दिएको उनको भनाइ छ । सबै जना एकजुट भएर देश पुर्नत्थानमा जोड्न मन्त्री पोखरेलले आग्रह गरेका छन् ।

Exit mobile version