रसुवाको भोटेकाशीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका कास्कीका ११ जनामध्ये पोखरा महानगरपालिका वडा नम्बर १५ का २ जना सुरक्षित रूपमा सम्पर्कमा आएका छन्।
जिल्ला प्रशासन तथा सम्बन्धित निकायमा दर्ता भएको निवेदन अनुसार पोखरा १५ का ३८ वर्षका छमप्रकाश थापा र सोही वडाकी ३३ वर्षकी मनु बुढा सम्पर्कमा आएका हुन्। दुवै जना सम्पर्कमा आएको पुष्टि स्थानीय प्रशासन तथा आफन्तले गराएका छन्।
कास्की जिल्लाका ९ जना नागरिक भने अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।
हालसम्म पनि सम्पर्कमा नआएकाहरूमा पोखरा १७ की ३३ वर्षकी सविना पौडेलरमिश्र, पोखरा ५ की सृष्टि बास्तोला, पोखरा ६ का ३२ वर्षका अभिषेक आचार्य, पोखरा १२ का ४५ वर्षका लीलाबहादुर थापा र २९ वर्षका सुमन श्रेष्ठ छन्।
त्यस्तै पोखरा १५ की ५१ वर्षकी देवीकुमारी गुरुङ, पोखरा १३ की ५० वर्षकी बिनु गुरुङ, पोखरा १४ का गोविन्दबहादुर अधिकारी र पोखरा १२ जयटोलका ४२ वर्षका दिलबहादुर थापा अझै सम्पर्कविहीन छन्।
रसुवा बाढीका कारण प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएकाले सम्पर्कमा आएका व्यक्तिहरूको सूची अझै थपघट हुन सक्ने प्रशासनले जनाएको छ।

