१० वर्ष अमेरिका बसेका आइटी इन्जिनियर रुपेन्द्र चलाउँदै थिए अनलाइन बेटिङ्, ३० करोडको कारोबार

नयाँलिपिः पोखरामा अनलाइन बेटिङ् (सट्टेबाजी, जुवा)को सञ्जाल रहेको पत्ता लागेको छ ।

उक्त सञ्जालको नाइके र अनलाइन बेटिङ्का डिजाइनर रुपेन्द्र जिसी रहेको कास्की प्रहरीको प्रारम्भिक अनुमान छ । पोखराको वडा १४ स्थिति अनुपम मार्गको साढे ३ तले घरमा क्रिप्टोकरेन्सी कारोवार, अनलाइन जुवा र सट्टाबाजी जस्ता शंकास्पद गतिविधि भइरहेको सूचना पाएपछि प्रहरी शुक्रबार त्यहाँ पुगेका थिए ।

जहाँबाट प्रहरीले विभिन्न इलेक्ट्रोनिक उपकरणसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले मुख्य योजनाकार मानिएका जिसी १० वर्ष अमेरिका बसेर महिना दिनअघि पोखरा आइपुगेका हुन् ।

जिसी आइटी इन्जिनियरिङमा पीएचडी गरिरहेकाे बताइएकाे छ ।

कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माका अनुसार उनीहरुको समूहलाई पक्रन प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिको कमाण्डमा संयुक्त टोली परिचालन भएको थियो ।

पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय बिक्रम बानियाँ रहेका छन्।

त्यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भई पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षीय रोजन केसी, म्याग्दीको बेनी नगरपालिका–२ स्थायी घर भई अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे, र म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थायी ठेगाना भई पोखराको चाउथेमा बस्ने २८ वर्षीय सन्दीप कटुवाल रहेका छन्।

यस समूहमार्फत ह्वाट्सएप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत सञ्चालित जुवा खेलमा हालसम्म १५ करोड रुपैयाँ बराबरको ग्याम्बलिङ कारोबार र १५ करोड बराबरको क्रिप्टोकरेन्सी कारोवार भएको देखिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

समूहले दैनिक तीन सिफ्टमा खेल सञ्चालन गर्ने, एक सिफ्टमा कम्तीमा ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूलाई अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Exit mobile version