‘चाकडीदारहरु भूँ–भूँ गरेर वरिपरि घुम्दैमा राजा आउन सक्दैन’ –जगमान गुरुङ

नयाँलिपिः नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले चाकडीदारहरु हात मलेर चाप्लुसी गर्दैमा राजा नआउने अभिव्यक्ति दिएका छन् ।

उनले ‘राजा कसरी आउन सक्छन् ?’ भन्दै विस्तृतमा आफ्ना धारणा राखेका हुन् । फेसबुक वालमा उनले लेखेका छन् ‘चाकडीदारहरु भूँ भूँ गरेर राजाको वरि परि घुम्दैमा राजा आउन सक्दैन।’

चाकडीदारहरु हात मलेर चाप्लुसी घसेर चुक्ली लगाएर राजाको अघि पछि हिँड्दैमा राजा आउन सक्दैन भन्दै उनले त्यस्ता चाकडीदारहरुको भरमा आएको राजा जसरी आउँछ, त्यसरी नै जाने उल्लेख गरेका छन् ।

‘प्रत्येक विज्ञ व्यक्तिले आ-आफ्नो विज्ञताबाट राष्ट्र र अन्तर्राष्ट्रमा सार्वजनिकरूपले राजाको औचित्य र अपरिहार्यता प्रमाणित गर्न सक्यो भने राजा आउन सक्छ’ गुरुङको भनाई छ ।

उनले लेखेका छन् ‘राजाप्रति जनताको स्वस्फूर्त र स्वच्छ श्रद्धा भक्तिबाट राजा आउन सक्छ। जनाधार भएका सबल व्यक्तिको नेतृत्त्वबाट जनशक्ति परिचालन गरेपछि बल्ल राजा आउन सक्छ। यस अवस्थामा राजा स्वयं सचेत हुन आवश्यक छ। राजाले विवेक राखिदिए असल मान्छे राजाको हात पर्न सक्छ र त्यसपछि राजाले आफ्नो राज्य थाम्न सक्छ ।’

गुरुङको भनाई पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौं जाने अघिल्लो दिनको हो ।

राजा र राजतन्त्रको पक्षमा रहेका गुरुङले नेपाल प्राज्ञिक मञ्च स्थापना गरेका छन् । मञ्चको ब्यानरमा केही दिन अघि पोखरामा विद्वत् सभाको आयोजना गरिएको थियो ।

Exit mobile version