माघ २४ देखि महानगर परिसरमा निरन्तर धर्ना, सर्वाेच्चको आदेश पालना गर्न माग

दिपक के श्रेष्ठः पोखरा महानगरपालिकाबाट हटाइएका करार कर्मचारीहरु सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिरी गर्न पाउनुपर्ने मागसहित माघ २४ गतेदेखि निरन्तर धर्नामा छन् ।

महानगर परिसरमा उनीहरुले दैनिक ३ घण्टा धर्ना दिएको आज एक महिना बढी भइसकेको छ । महानगरपालिकाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई कार्यान्वयन नगरेपछि कर्मचारी आन्दोलित भएका छन् ।

गत माघ १ गते पदमुक्त भएका कर्मचारीले थमौतीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेकोमा अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने आदेश जारी गरेको छ ।

करार सेवाबाट हटाइएका स्वास्थ्य क्षेत्रका ५९ कर्मचारीले अदालतको सोही आदेश अनुसार आफूहरुले हाजिरी भएर कामकाज गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।

‘करार स्वास्थ्यकर्मी संघर्ष समिति’को ब्यानरमा आन्दोलित उनीहरुले हाजिरीको मागसँगै आन्तरिक प्रतिष्पर्धाको मागसमेत गरेका छन् ।

समितिका सदस्य विशाल पौडैलले भने ‘महानगरले हामीलाई हटाएर सोही शाखा र क्षेत्रमा १ सय ७० पदमा आवेदन खोलेको छ, हामीले आन्तरिक प्रतिष्पर्धा गर्न पाउनुपर्छ ।’

स्थानीय र पोखरा महानगरको ऐनमा पनि आन्तरिक प्रतिष्पर्धा गर्न पाउने उल्लेख भएको पौडेलले ध्यानाकर्षण गराएका छन् ।

पोडेलका अनुसार बिहीबारदेखि धर्ना सुरु गरेपछि उनीहरुले मेयर धनराज आचार्यलाई देख्न, भेट्न पाएका छैनन् । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईसँग पनि सम्वाद हुन नसकेको उनले बताए ।

‘अदालतको आदेशमाथि नै महानगरले अटेर गरेको छ’ पौडेल भन्छन् ‘यस्तै रवैया रहे अदालतको अवहेलनामा हामी महानगरविरुद्ध मुद्दा दर्ता गर्नेछौं ।’

आन्दोलनरत समितिले धर्नालाई पनि निरन्तरता दिने बताएको छ ।

Exit mobile version