७० दिनको निरन्तर आन्दोलनपछि पोखरा महानगरको स्वास्थ्य महाशाखामा करारको ‘ताला’

नयाँलिपिः पोखरा महानगरपालिकाबाट हटाइएका करार कर्मचारीहरु सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिरी गर्न पाउनुपर्ने मागको सुनुवाई नभएपछि आज महानगरको स्वास्थ्य महाशाखामा तालाबन्दी गरेका छन् ।

हटाइएका कर्मचारीले तालाबन्दीपश्चात् ९ बुँदे मागसहितको ब्यानर टाँसेर आन्दोलनको अर्काे चरण सुरु भएको बताएका छन् ।

महानगर परिसरमा उनीहरुले दैनिक ३ घण्टा धर्ना दिएको ७० दिनसम्म कुनै सुनुवाई नभएपछि तालाबन्दीमा उत्रन बाध्य भएको ‘करार स्वास्थ्यकर्मी संघर्ष समिति’ सदस्य विशाल पौडेलले बताएका छन् ।

महानगरपालिकाले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई कार्यान्वयन नगरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

गत माघ १ गते पदमुक्त भएका कर्मचारीले थमौतीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेकोमा अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने आदेश जारी गरेको छ ।

करार सेवाबाट हटाइएका स्वास्थ्य क्षेत्रका ५९ कर्मचारीले अदालतको सोही आदेश अनुसार आफूहरुले हाजिरी भएर कामकाज गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।

आन्दोलित उनीहरुले हाजिरीको मागसँगै आन्तरिक प्रतिष्पर्धाको मागसमेत गरेका छन् ।

पौडेल भन्छन् ‘महानगरले हामीलाई हटाएर सोही शाखा र क्षेत्रमा १ सय ७० पदमा आवेदन खोलेको छ, हामीले आन्तरिक प्रतिष्पर्धा गर्न पाउनुपर्छ ।’

Exit mobile version