‘टीयू डे’मा शिक्षामन्त्रीले भने -‘विश्वविद्यालयमा राजनीति पूर्णत: अन्त्य हुनेछ’

शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्ण रूपमा अन्त्य हुने बताएका छन् ।

बिहीबार काठमाडौँमा त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबण्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् ।

उनेल सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दवाव आउन नदिने भन्दै दलीय दवाव आए तुरुन्त शिक्षा मन्त्रालयमा जानकारी गराउन आग्रह गरे । इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिहरूको चयन हुनुले उच्च शिक्षामा नयाँ ऊर्जा र प्रतिवद्धता थपेको उनले बताए ।

‘कसैलाइ कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कसैलाई सरुवा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, नियुक्ति गर्नुपर्ने दवाव राजनीतक रुपमा विश्वविद्यालयमा कहिल्यै पनि आउँदैन । यदि आयो भने शिक्षा मन्त्रालयमा तुरुन्त जानकारी गराउनुहोला ।’

उनले भने, ‘हामी मेरिटोक्रेसिको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउन काम गर्छौँ । हाम्रो पार्टीबाट, अन्य पार्टीबाट कुनै दवाव आयो भने प्रतिवाद गर्न हामी छौँ भनेर प्रतिवद्धता जनाएका छौँ ।’

मन्त्री पोखरेलले विश्वविद्यालयको सुधार पदाधिकारीहरूबाट मात्र सम्भव नरहेकाले सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्व र जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।

विदेशी विश्वविद्यालयका प्राध्यापकहरूलाई नेपाल ल्याउने तथा नेपालका प्राध्यापक/विद्यार्थीहरूलाई विदेशमा रहेका विश्वविद्यालयमा अध्ययन–अध्यापनको अवसर मिलाउन विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।

विश्वविद्यालयलाई बढी स्वायत्तता र प्राध्यापकहरूलाई शैक्षिक स्वतन्त्रता प्रदान गर्ने नीति सरकारको रहेको धारणा राखे ।

समारोहमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा भोला थापाले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक कार्यक्रमहरूको पुनर्संरचनामा विशेष ध्यान दिने बताए ।

Exit mobile version