कांग्रेसमा कलह ! विपि सम्झँदै, पार्टी फुटाइँदै

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९७१ साल भदौ २४ गते जन्मिएर नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

२०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।

एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

आजको दिन विपिलाई सम्झेर कांग्रेस एक ढिक्का हुनुपर्नेमा उल्टै दुई समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी विभाजनको प्रष्ट रेखा कोरेका छन् ।

संस्थापन पक्षले ‘ग्रिन रन’लगायतका कार्यक्रमको आयोजना गरेको छ भने संस्थापन इतर समूहले काठमाडौँको प्रज्ञा भवन कमलादीमा भेलाको आयोजना गरेको छ ।

गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा प्रष्टसँग दुई धार देखिएको छ । इतर पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाएका छन् ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिए पनि कांग्रेसभित्रको मतभेद विभाजनको स्थितिसम्म पुग्ने अवस्था देखिएको छ ।

Exit mobile version