पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संचालन हुँदै आएको निशूल्क सटल बस सेवा बन्द भएको छ ।
पोखरा महानगरद्वारा सञ्चालित उक्त बसको सम्झौता सकिएको भन्दै बन्द गरिएको हो । हाल पोखरा यातायातले विमानस्थलबाट सशूल्क सेवा दिन सुरु गरेको छ ।
पोखरा यातायातले यात्रुको सुविधालाई ध्यानमा राख्दै यसअघि विमानस्थलबाट अमरसिंह चोकसम्म संचालन हुँदै आएको बस सेवालाई अब वाराही चोकसम्म लैजाने भएको छ ।
विमानस्थलबाट छुट्ने बस अब पृथ्वीचोक र मुस्ताङचोक हुँदै लेकसाइडको वाराही चोकसम्म संचालन हुन थालेको हो। यसअघि गत वैशाख १ देखि असार मसान्तसम्म पोखरा महानगरपालिका, महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना विकास बैंकको संयुक्त सहकार्यमा निशुल्क बस सेवा संचालनमा थियो।
असार मसान्तसम्मको सम्झौता सकिएसँगै पूर्व घोषणा अनुसार निशुल्क सेवालाई सशुल्कमा परिणत गरी निरन्तरता दिइएको छ। हाल महानगरपालिकाको पहलकदमीमा पोखरा यातायात प्रालिले दुईवटा बस संचालनमा ल्याएको छ।
मेयर धनराज आचार्यले बस पुनः सञ्चालन गर्ने बताउँदै बस ल्याउने प्रक्रिया सुरु भएको बताएका छन् । यसबीच पोखरा यातायातले भने विमानस्थलबाट सेवा दिँदा घाटा हुने बताएपछि महानगरले नै व्यहोर्ने शर्तमा बस सञ्चालन गरेको छ ।
पोखरा बस सञ्चालक समितिका प्रबन्ध निर्देशक देवी कुइँकेलले घाटा भए महानगरले व्यहोरिदिने मौखिक सहमति भएपछि सेवा सुरु गरेको बताएका छन् ।
