‘सम्झौता गरेका अस्पतालले विभेद गरे तत्काल उजुरी गर्नु’ – सासु कोष

 सामाजिक सुरक्षा कोषले आफ्ना लाभग्राहीहरूका लागि स्वास्थ्य सेवा लिने सम्बन्धमा नयाँ नियमहरू सार्वजनिक गरेको छ।

कोषबाट संचालित औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सेवा प्राप्त गर्न योगदानकर्ताले विभिन्न प्रक्रिया अनिवार्य पालना गर्नुपर्ने कोषले जनाएको छ।

कोषले जारी गरेको सूचना अनुसार स्वास्थ्य उपचार सेवा लिनका लागि योगदानकर्ताहरू कोषले तोकेका अस्पतालहरूमा मात्र जानुपर्ने छ। ती अस्पतालहरूको सूची कोषको वेबसाइटमा आबद्ध अस्पताल शीर्षकमा राखिएको छ।

यस्तै, अस्पताल जानुअघि योगदानकर्ताले आफ्नो, दम्पती र छोराछोरीको केवाइसी विवरण अनिवार्य रुपमा अद्यावधिक गराउनुपर्ने छ। स्वास्थ्य सेवा प्राप्त गर्दा कोषले जारी गरेको भौतिक वा भर्चुअल कार्डमध्ये कुनै एक परिचयपत्र अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको छ।

यसका साथै, कोषसँग सम्झौता गरेका अस्पतालहरूले कुनै पनि बहानामा सेवा दिन इन्कार गरेमा वा विभेद गरेमा कोषमा उजुरी गर्न सकिने छ।

‘विशेषज्ञ चिकित्सकले नहेर्ने, प्रेस्क्राइब औषधि नदिने, सर्जरीका लागि अतिरिक्त शुल्क लिने, ओपिडी समय घटाउने वा सामान्य बिरामी र कोषका सेवाग्राहीलाई गर्ने व्यवहार समान नभएमा कोषमा सम्पर्क गर्नुपर्छ,’ सूचनामा उल्लेख छ।

अस्पतालहरूले यस्ता सुविधा प्रदान गर्न इन्कार गरेमा कोषको मोबाइल नम्बर ९८५१३४५८१४, कल सेन्टर नम्बर १११६, इमेल claim@ssf.gov.np, ह्वाट्सएप ९८५१३४५८१४ वा फोन नम्बर ०१५३६०३१५ मा तुरुन्त सम्पर्क गर्न कोषले अनुरोध गरेको छ।

यसरी गरिने उजुरीले कोषले तोकेको दररेटमा सहज स्वास्थ्य उपचार पाउन सहज हुने विश्वास लिइएको छ।

Exit mobile version