‘सामाजिक सुरक्षा कोष’मा सञ्चार मन्त्रालयको चासो, पोखरामा कार्यशाला

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयले आउने आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कोष सञ्चारमाध्यममा अनिवार्यरुपमा लागू हुने व्यवस्था गर्नेतर्फ पनि ध्यान दिने बताएका छन् ।

उनले सबै सञ्चार माध्यम विस्तारै सामाजिक सुरक्षा कोषमा जोडिनुपर्ने बताउँदै यसको अनगिन्ती फाइदाबारे चर्चा गरे ।

त्यस्तै, अहिले नेपालमा ३० अर्ब जतिको विज्ञापन बजार रहेको अनुमान सुनाउँदै २८ अर्बको विज्ञापन राजस्वको दायरा बाहिर रहेको उल्लेख गरे ।

उनले देशका सबै प्रदेशमा एकै प्रकारको सञ्चार नीति आवश्यक पर्ने औंल्याउँदै पत्रकारिता क्षेत्रको विकासका लागि तीन तहकै सरकारबिच सहकार्य हुनैपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले कार्यालयले पत्रकार र सञ्चार माध्यमलाई सशक्त बनाउन विभिन्न योजना बनाएको जनाउँदै सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेलाई प्रोत्साहन गरिने उल्लेख गरिन् ।

सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले सामाजिक सुरक्षा राज्यको प्राथमिक दायित्व र नागरिकको नैसर्गिक अधिकार भएको बताए । उनले कोषले प्रदान गर्ने सेवाबारे प्रस्तुतिकरणसमेत गरेका थिए । कोषले औपचारिक, अनौपचारिक तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषमा आवद्ध हुने गरी कार्यक्रमअघि बढाएको उनले सुनाए ।

कोष कोखदेखि शोकसम्मको सारथि भएको उनको भनाइ छ । कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गर्नुपर्छ । जसमध्ये ११ प्रतिशत रकम श्रमिक आफैँले व्यहोर्नुपर्ने छ भने ९ दशमलव ३७ प्रतिशत रकम सरकारले थप गर्छ । तर, स्वरोजगारले भने न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत रकम योगदान गर्नुपर्छ ।

कोष स्थापना भएको ६ वर्ष भयो । यसको पोखरामा सम्पर्क कार्यालय छ । कोषबाट गैरसरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारी र श्रमिकका लागि योगदानमा आधारित पेन्सन योजना सञ्चालनमा छ । कोषमा योगदान गरेको १५ वर्षपछि पेन्सन आउँछ । तर बिचैमा निधन भए आश्रितलाई पेन्सन आउँछ ।

सामाजिक सुरक्षा कोषमा अहिलेसम्म देशभरबाट ९ लाख जनाभन्दा बढी सहभागी भएका छन् । ६ वर्षअघि मात्रै स्थापना भएको हुँदा धेरै कुरा सुधार गरिएको र धेरै अझै सुधारिँदै गएको कोषले जनाएको छ ।

कोषले पेन्सन योजनाका अलावा वार्षिक १ लाखसम्मको औषधोपचार सुविधा दिन्छ । २ वर्ष योगदान गरेकालाई घातक रोग लागे १० लाखसम्म उपचार खर्चको शोधभर्ना हुन्छ ।

रोजगारीका सिलसिलामा दुर्घटनावस २० प्रतिशतभन्दा ज्यादा अपांगता भए पनि पेन्सन दिने सुविधा कोषमा छ । मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना जस्ता सुविधा कोषमा छन् ।

खास रोजगार कम्पनी बाहेकमा जागिर नभएका दैनिक ज्याला, मजदुरी गर्ने लगायत अनौपचारिक क्षेत्रका मजदूर पनि कोषमा आवद्ध हुन मिल्ने व्यवस्था गरिसकिएको छ ।

Exit mobile version