जिल्ला प्रशासन कार्यालय कास्कीले धार्मिक तथा सांस्कृतिक चाडपर्वका नाममा सार्वजनिक स्थलमा हतियार प्रदर्शन नगर्न र गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
देशभरका विभिन्न स्थानमा र्याली, जुलुस वा प्रदर्शनको नाममा सडक र बजार लगायतका सार्वजनिक स्थलमा संस्था, समाज वा व्यक्तिले हतियार प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाएको गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो ।
प्रशासनका अनुसार निजी उपयोगका हातहतियार, खरखजना, धारिलो हतियार र डमी हतियार (नांगो तरवार, खुकुरी) प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाउने कार्य भइरहेको छ ।
यस्ता कार्यको विरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार), गृह मन्त्रालय, संवैधानिक निकाय, अन्य नियामक निकाय र सामाजिक संजाल मार्फत गुनासो प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
नेपाल सरकारको आदेश बमोजिम वा कुनै सरकारी कर्मचारीको हैसियतले आफ्नो कर्तव्य पालना गर्दाको अवस्थामा बाहेक अन्य समयमा यात्रा इजाजत (‘जर्नी लाइसेन्स’) बिना एक ठाउँबाट अर्को ठाउँमा हतियार लैजान पाइने छैन ।
यस्तै, बिना इजाजत हातहतियार खरखजना राख्ने, चाडपर्व वा संस्कृतिको नाममा सार्वजनिक स्थलमा हतियार प्रदर्शन गर्ने, मुख छोपेर त्रास फैलाउने र हुलहुज्जत गर्ने जस्ता गैरकानुनी क्रियाकलाप नगर्न प्रशासनले सचेत गराएको छ ।
प्रशासनले यस्ता गतिविधि गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई हातहतियार ऐन, २०१९ (संशोधन सहित), हातहतियार खरखजना नियमावली, २०२८ (संशोधन सहित) र अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सूचनाको उल्लंघन नगर्न सबैलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा फोन नम्बर ०६१-४५१७६४ (प्रजिअ सचिवालय), ०६१-४५५०७५ (प्रशासन शाखा) र ०६१-४५५९३६ (नागरिकता शाखा) मा सम्पर्क गर्न सकिने उल्लेख छ ।
