पोखरा । कास्कीमा फागु पूर्णिमा (होली) र आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक स्थलमा भीडभाड र सांगीतिक कार्यक्रम गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सार्वजनिक स्थानमा मेला, महोत्सव र भीड जम्मा हुने कार्यक्रम गर्न रोक लगाएको हो ।
प्रशासनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई प्राथमिकतामा राखेको छ । जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘निर्वाचन आचारसंहिताको परिपालना र सुरक्षा संवेदनशीलताका कारण अघिल्ला वर्षहरूमा झैँ खुला सडक तथा सार्वजनिक स्थानमा फेस्ट, स्टेज प्रोग्राम, कन्सर्ट र कल्चरल प्रोग्राम जस्ता कार्यक्रम गर्न कुनै पनि व्यक्ति वा संस्थालाई अनुमति दिएको छैन ।’ निर्वाचन नसकिएसम्म यस्ता गतिविधि नगर्न र नगराउन प्रशासनले सचेत गराएको छ ।
होली पर्व मनाउँदा आफ्नो धार्मिक र सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्दै सभ्य रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ । यस क्रममा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने र पानी छ्याप्ने जस्ता कार्य गर्न निषेध गरेको छ ।
बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गर्ने र सवारी साधनबाट रकम असुल्ने जस्ता उच्छृंखल गतिविधि गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । प्रशासनले धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्न समेत आह्वान गरेको छ ।
सवारी चलाउँदा मादक पदार्थ सेवन नगर्न र अनावश्यक रूपमा होहल्ला नगर्न प्रशासनले निर्देशन दिएको छ । मोटरसाइकल पड्काउँदै हिँड्ने वा अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिइने सूचनामा उल्लेख छ । यस्तै, दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी साधन प्रयोग गरी कुनै पनि प्रकारका र्याली निकाल्न र अनावश्यक हर्न बजाउन समेत प्रतिबन्ध लगाएको छ ।
निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गराउन प्रशासनले विशेष कडाइ गरेको छ । निर्वाचन आचारसंहिता विपरीत हुने गरी कुनै पनि व्यक्ति, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेष, टिसर्ट, ज्याकेट, ब्याच, मास्क वा लकेट लगाउन पाइने छैन । यस्ता सामग्री बोकेका झोला बोक्न र वितरण गर्न समेत रोक लगाएको छ । प्रशासनले आचारसंहिता उल्लंघन भएको पाइएमा जिल्ला आचारसंहिता अनुगमन समिति वा नजिकको सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरेको छ ।
प्रचलित कानुन विपरीतका कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सहायक प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, कर्मचारी, मतदाता, निजी क्षेत्र र सञ्चार माध्यमलाई समेत आचारसंहिता पालना गरी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्न अनुरोध गरेको छ ।
