पोखरा महानगरपालिकाले नगरभित्र रहेका सबै सार्वजनिक जमिनको वास्तविक अवस्था अभिलेखीकरण गर्ने भएको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा दीर्घकालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरले यस्तो योजना अघि सारेको हो ।
यस क्रममा नगरभित्रका सार्वजनिक जमिनको क्षेत्रफल, स्थान, वर्तमान उपयोग, संरक्षणको अवस्था तथा सम्भावित अतिक्रमण लगायतका विषयहरूको विस्तृत विवरण संकलन गरिनेछ ।
पोखरा महानगरपालिकाले संकलित तथ्यांकका आधारमा नगर क्षेत्रमा कुन स्थानमा कति सार्वजनिक जमिन रहेको छ र ती जमिनहरू कस्तो अवस्थामा छन् भन्ने यथार्थ विवरण सार्वजनिक गर्ने योजना बनाएको छ ।
यस कार्यबाट सार्वजनिक सम्पत्तिको संरक्षण, योजनाबद्ध विकास तथा भावी पुस्ताका लागि खुला क्षेत्र सुरक्षित राख्न महत्त्वपूर्ण आधार तयार हुने विश्वास महानगरले गरेको छ ।
सार्वजनिक जग्गाको संरक्षणमा सबै सरोकारवाला निकाय तथा स्थानीयवासीको सहयोग, सहभागिता र साझा दायित्व रहने कुरामा समेत जोड दिइएको छ ।
