सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रशासनको अनुमति अनिवार्य, अटेर गरे कारबाही हुने

जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम संचालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ ।

पछिल्लो समय अनुमति नलिई कार्यक्रम गर्ने र सामाजिक संजालमार्फत भ्रम फैलाउने गतिविधि बढेको भन्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।

विभिन्न राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्ति, संस्था वा समूहले सार्वजनिक स्थानहरूमा प्रशासनको पूर्व स्वीकृति नलिई आफूखुसी र्‍याली, जुलुस वा प्रदर्शन गरिरहेको कार्यालयले उल्लेख गरेको छ ।

कतिपयले कार्यक्रम संचालनको स्वीकृति नलिए तापनि ‘स्वीकृति प्राप्त भएको’ भनी सामाजिक संजाल र विद्युतीय माध्यमबाट भ्रामक सूचना सम्प्रेषण गरिरहेको पाइएकाले प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता गतिविधिले राजनीतिक, धार्मिक, सांस्कृतिक वा साम्प्रदायिक एकतामा खलल पुग्ने प्रशासनको ठहर छ ।

नेपाली नागरिकलाई शान्तिपूर्वक भेला हुन पाउने संविधान प्रदत्त अधिकारको सुनिश्चितता गर्दै कास्कीमा सार्वजनिक प्रदर्शन, र्‍याली, सभा वा यस्तै प्रकृतिका राजनीतिक वा धार्मिक गतिविधि संचालन गर्नुपूर्व अनिवार्य स्वीकृति लिएर मात्र गर्न प्रशासनले अनुरोध गरेको छ ।

‘सूचनाको विपरीत कसैले उल्लेखित गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने ।

प्रशासनले यस सम्बन्धमा कुनै प्रकारको भ्रम वा द्विविधा नराख्न सम्पूर्ण सरोकारवालामा आग्रह गरेको छ । साथै, वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माणको अभियानमा हातेमालो गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।


Exit mobile version