लेखनाथको शिसुवा देउरालीमा असारे रोपाइँ महोत्सवको तयारी

आगामी असार १५ गते २१औं असारे रोपाइँ महोत्सव २०८३ आयोजना गरिने भएको छ ।

पोखरा पर्यटन परिषदको आयोजनामा हुने यो महोत्सव यसपटक पोखरा महानगरपालिका ३० स्थित शिशुवा देउराली खोला किनारमा हुने तय भएको छ ।

पर्यटनको ‘अफ सिजन’ मानिने वर्षायाममा समेत पर्यटकलाई पोखरा भित्र्याउने उद्देश्यले परिषदले दुई दशकदेखि निरन्तर यो महोत्सव गर्दै आएको छ ।

महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्नका लागि परिषदको कार्यालयमा विशेष छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको छ ।

परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा भएको सो कार्यक्रममा महोत्सवको तयारी, व्यवस्थापन र विविध पक्षमा गहन छलफल गरियो । यस वर्षको महोत्सव वडा स्तरीय कृषि सञ्जाल पोखरा ३० सँगको समन्वयमा आयोजना हुन लागेको हो ।

महोत्सवको तयारीका बारेमा जानकारी दिँदै परिषदका अध्यक्ष तारानाथ पहारीले यसपटकको कार्यक्रमलाई विगतको तुलनामा अझ व्यवस्थित र प्रभावकारी बनाइने बताए ।

‘हाम्रो मुख्य उद्देश्य भनेकै वर्षाको समयमा पनि पोखरामा पर्यटकीय गतिविधि चलायमान बनाउनु हो,’ उनले भने, ‘रोपाइँ महोत्सवमार्फत हामीले यहाँको मौलिक परम्परालाई विश्वमा चिनाउन खोजिरहेका छौँ ।’ उनले यस महोत्सवले कृषि र पर्यटनलाई एकैसाथ जोड्ने विश्वास समेत व्यक्त गरे ।

अन्तर्क्रियाका क्रममा परिषदका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले महोत्सवलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए । खेतीपातीको सिजनमा हिलो र माटोसँग खेल्दै रमाइलो गर्ने यो महोत्सवमा विदेशी पर्यटकहरूको समेत उल्लेख्य सहभागिता रहँदै आएको छ ।

महोत्सवमा परम्परागत रोपाइँ, हिलोमा दौडिने र माछा समात्ने जस्ता प्रतियोगिता, स्थानीय मौलिक खानाका परिकार र सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने तयारी छ ।

परिषदले हरेक वर्ष फरक-फरक स्थानमा यस्ता कार्यक्रम गरेर स्थानीय कृषि र पर्यटनको प्रवर्द्धन गर्दै आएको छ । छलफलमा सहभागी पदाधिकारीहरूले लो सिजनको पर्यटन प्रवर्द्धनका लागि रोपाइँ महोत्सव एउटा महत्वपूर्ण ब्राण्ड बनिसकेको उल्लेख गरे ।

Exit mobile version