मेयरले हलो जोते, पर्यटकले फुटबल खेले, किसानले नगद पाए

पोखरामा २ दशक यता मनोरञ्जनात्मक, शिक्षाप्रद र कृषिबालीलाई एउटै थलोबाट प्रचार गर्ने अनि विदेशी पर्यटकलाई पनि रोमाञ्चित बनाउने फरकखाले महोत्सव हुँदै आएको छ । जसको नाम हो ‘रोपाइँ महोत्सव’ ।

त्यही महोत्सवमा आज खेतका हिलाम्मे गह्राहरुमा खेल्ने, कुद्ने, नाच्ने काम मात्र भएन । त्यही हिलो र कृषिकर्ममा लागेकाहरुको पसिनाको सम्मानसमेत गर्ने काम भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा महानगरपालिका–३०, देउराली खोला क्षेत्रमा आज २१औँ रोपाइँ महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा स्थानीयसँगै पर्यटकहरुले विभिन्न क्रियाकलापमा भाग लिएका छन् । मुख्यतः विश्वकप फुटबलको सिजन चलिरहेकोबेला सहभागीले धान रोप्न ठिक्क पारिएको हिलोमा पर्यटकले फुटबल खेलेर मनोरञ्जन लिने र दिने कामसमेत गरे ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गरिएको हो ।


पोखरा वरपर रहेका खेतीयोग्य जमिनको संरक्षण, कृषकलाई सम्मान तथा ‘हिलोमा एक पटक, देशको माया सय पटक’ भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानका रूपमा पनि महोत्सवलाई लिइँदै आइएको छ ।

महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्दै ‘पोखरा भ्रमण वर्ष’लाई सफल बनाउनु रहेको परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

महोत्सवको उद्घाटन गर्दै महानगरपालिकाका मेयर धनराज आचार्यले खेतमा ओर्लिएर नारिएका हल गोरुलाई सिर्कनो लगाउँदै जोत्न सुरु गर्दा माहौल उत्साहित भएको थियो ।

सोहीक्रममा महानगरपालिकाले दुई जना कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ ।

कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की (पोखरा–२१) र हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का ९पोखरा–२७० लाई रोपाई महोत्सवका अवसरमा सम्मान प्रदान गरिएको हो ।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरेका छन् ।


कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी बाली र पशुपालनगरेका छन् भने कृषक खड्काले हेब्रोन लाइभ स्टक फार्म आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमुना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गर्दै आएका छन् ।

उनीहरुलाई सम्मान गर्दै मेयर आचार्यले महानगरपालिका कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणसहित कृषकहरूको प्रोत्साहनका लागि सदैव तत्पर रहेको बताए ।

मेयर आचार्यले पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका–३०, कृषि सञ्जाल तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद तथा बधाई दिएका छन् ।

Exit mobile version