पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरवासीलाई डिजिटल पोखराको अवधारणामा अघि बढाउने लक्ष्य रहेको बताएका छन् ।
जस अनुसार महानगरको सार्वजनिक सेवा प्रणालीलाई हदैसम्म प्रविधिमैत्री बनाउन योजना रहेको छ । महानगरको बिहीबार आयोजित १५ औं नगरसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा आचार्यले उक्त संकल्प गरेका हुन् ।
‘हामी पेपरलेस, फेसलेस र क्यासलेस सार्वजनिक सेवाको लक्ष्यमा छौँ,’ उनले भने ‘अब घरनक्सा पास, व्यक्तिगत घटना दर्ता, राजस्व भुक्तानी र योजना व्यवस्थापन पूर्ण रूपमा डिजिटल प्रणालीबाट हुनेछ ।’
आचार्यले विगत चार वर्षका प्रयासको प्रतिफलस्वरूप पोखराले पर्यटन, पूर्वाधार र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको दाबी गरे । पोखरालाई गर्वका साथ पर्यटकीय राजधानी घोषणा गरिएको र यसले समग्र गण्डकी प्रदेशकै अर्थतन्त्र चलायमान बनाएको उनको भनाइ थियो । ‘हाम्रो कार्यकालको यो नीति तथा कार्यक्रम अन्तिम मार्गचित्र हो, यसलाई सफल बनाउन सबैको साथ चाहिन्छ,’ उनले थपे ।
मेयर आचार्यले पोखराको पहिचानका रूपमा रहेको फेवाताल संरक्षणलाई मुख्य प्राथमिकतामा राखेका छन् । सर्वोच्च अदालतको आदेशानुसार तालको सीमांकन गरी १ हजार ५ सय ५ वटा सीमा स्तम्भहरू गाडिएको जानकारी उनले दिए । पछिल्लो सर्वेक्षण अनुसार फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ६ सय ४८ रोपनी ३ पैसा ३ दाम कायम भएको छ ।
‘तालको मुहान क्षेत्रमा चेक ड्याम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन पूरा हुने प्रक्रियामा छ,’ मेयरले बताए । तालघरबाट ६५ मिटरको क्षेत्रलाई मध्यवर्ती क्षेत्रका रूपमा विकास गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । फिर्के खोला संरक्षणका लागि १६० वटा अवैध संरचनाहरू हटाइएको तथ्य उनले प्रस्तुत गरे । फिर्के खोलालाई ‘हरित, स्वच्छ र जीवन्त सार्वजनिक कोरिडोर सहर’ बनाउने उनको दूरदर्शी योजना छ ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै सेवा प्रवाहलाई पारदर्शी बनाइने उनले प्रतिबद्धता जनाए । महानगरको आफ्नै विद्युतीय पार्श्व चित्र तयार गरिएको छ । यसले तथ्य र प्रमाणका आधारमा योजना छनोट गर्न मद्दत पुग्ने आचार्यको विश्वास छ । उनले पोखरालाई ‘कार्बन तटस्थ सहर’ बनाउन पञ्चवर्षीय नगर ऊर्जा योजना लागू गर्ने घोषणा पनि गरे ।
वातावरण संरक्षणका लागि मेयर आचार्यले साहसिक कदम चाल्ने बताएका छन् । सन् २०४३ सम्ममा पोखरामा गुड्ने ९० प्रतिशत सवारी साधन विद्युतीय बनाउने लक्ष्य उनले सुनाए । ‘आयातित इन्धनलाई विस्थापित गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने । कोइका र युएनडिपीको सहयोगमा ३ हजार जनालाई हरित रोजगारी दिने गरी ‘ग्रीन भेन्चर जोन’ निर्माण भइरहेको छ ।
जाइकाको सहयोगमा पश्चिम क्षेत्रमा फोहोर पानी प्रशोधन केन्द्र बनाउन अध्ययन पूरा भएको छ । मुख्य बजार क्षेत्रको विद्युतीय तारलाई भूमिगत गर्ने कार्यलाई पनि उनले प्राथमिकतामा राखेका छन् । २० वर्ष पुराना सवारी साधनलाई क्रमशस् विस्थापित गर्न संघीय सरकारसँग समन्वय गरिने उनले बताए । ‘नो प्लास्टिक पोखरा’ अभियान मार्फत एक पटक प्रयोग हुने प्लास्टिकलाई पूर्ण रूपमा निषेध गरिनेछ ।
शिक्षा र युवा स्वरोजगारमा मेयर आचार्यले नयाँ प्रयोगहरू घोषणा गरेका छन् । सामुदायिक विद्यालयका बसहरूमा चालकको व्यवस्था महानगरले नै गर्ने नीति उनले ल्याएका छन् । ‘पढ्दै कमाउँदै’ अवधारणा अनुसार विद्यार्थीलाई उद्यमसँग जोडिनेछ ।
विद्यालयहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र अटोमेसन जस्ता आधुनिक विषय पढाइनेछ । ‘हाम्रा नानी, कति ज्ञानी’ भन्ने संस्कारयुक्त शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । महिला सशक्तीकरणका लागि ‘वान वार्ड वान वुमन टेक्निकल म्यानपावर’ कार्यक्रम मार्फत प्रत्येक वडाका महिलालाई प्राविधिक शिक्षामा छात्रवृत्ति दिइनेछ ।
स्थानीय उत्पादनलाई ‘मेक इन पोखरा, मेड इन पोखरा’ ब्राण्डिङ गरिने मेयरले बताए । ‘को-वर्किङ स्पेस’ र ‘बिजनेस इन्क्युबेसन सेन्टर’ मार्फत युवाहरूलाई स्वरोजगार बनाइने उनको योजना छ ।
स्वास्थ्य सेवामा नगरवासीको पहुँच बढाउन मेयर आचार्यले रणनीतिक योजना ल्याएका छन् । प्रत्येक स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरी गुणस्तर सुधार गरिने उनले बताए । शिशुवा अस्पतालमा बिरामीको विवरण सुरक्षित राख्न ‘इलेक्ट्रोनिक मेडिकल रिपोर्ट’ प्रणाली सुरु हुनेछ । जटिल अवस्थाका सुत्केरी र नवजात शिशुको उपचारका लागि ‘सीइओएनसी’ साइट सञ्चालन गरिने उनले जानकारी दिए ।
‘स्वस्थ पोखरा’ अभियान अन्तर्गत स्वास्थ्य बीमालाई लागत साझेदारी प्रणालीमा लगिनेछ । सामुदायिक विद्यालयहरूमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालन गरिनेछ । आयुर्वेद र योगलाई पनि स्वास्थ्यको मूलधारमा समावेश गरिने मेयरको नीति छ । ‘हामी पोखरालाई आरोग्य सहरको रूपमा विकास गर्नेछौँ,’ उनले भने ।
कृषि र पर्यटनलाई समृद्धिको आधार मान्दै मेयर आचार्यले विशेष प्याकेजहरू ल्याएका छन् । बाँझो जग्गा सदुपयोग गर्न र उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको उनले बताए । ‘घर फर्क अभियान’ मार्फत गाउँमा बसेर खेती गर्ने कृषकलाई प्रोत्साहन गरिनेछ । कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनलाई निरन्तरता दिइनेछ ।
बाँदर नियन्त्रणका लागि वन क्षेत्रमा ‘खानयोग्य वृक्षारोपण’ र वैकल्पिक बाली प्रवर्द्धन गरिने उनले सुनाए । पर्यटनतर्फ ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई भव्य बनाइने उनले बताए । ‘एक पर्यटक, एक मित्र’ अभियान मार्फत नगरवासीलाई आतिथ्य सत्कारमा जोडिनेछ । पृथ्वीचोकमा परम्परागत वास्तुुकलाको ‘पोखरा घर’ निर्माण गरी पर्यटकीय सूचना केन्द्र सञ्चालन गरिने मेयरको योजना छ ।
राजस्व र सहरी व्यवस्थापनमा मेयर आचार्यले कडा नीतिहरू प्रस्तुत गरेका छन् । जग्गाको मूल्यांकन प्रणालीलाई वस्तुनिष्ठ बनाउन ‘ट्याक्स म्यापिङ’ प्रविधिको विकास गरिने उनले बताए । विज्ञापन ऐन कार्यान्वयन गरी सबै प्रकारका होर्डिङ बोर्ड र विज्ञापनलाई करको दायरामा ल्याइनेछ । भूमि प्रशासन सम्बन्धी सेवा अब महानगरबाटै प्रवाह गर्ने व्यवस्था मिलाइने उनले घोषणा गरे ।
‘हामी राजस्वको दायरा बढाउँछौँ तर करदातालाई मर्का पर्न दिँदैनौँ,’ उनले भने ‘सार्वजनिक स्थलमा कुकुर खुला छाड्ने धनीलाई कानुनी कारबाही गरिनेछ ।’ मेयर आचार्यले ३३ वटा विशेष अभियानहरू पनि सार्वजनिक गरे । जसमा ‘मुस्कान सहितको पोखरा’, ‘१० मिनेट नागरिक योगदान’ र ‘साप्ताहिक कार-फ्री सडक’ जस्ता आकर्षक कार्यक्रमहरू छन् ।
मेयर आचार्यले पोखराको विकासमा अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगको पनि प्रशंसा गरे । विश्व बैंक, एसियाली विकास बैंक र अन्य दातृ निकायको सहयोगमा ठूला पूर्वाधारका आयोजनाहरू अघि बढिरहेको उनले बताए ।
‘हाम्रो संकल्प साझा समृद्धिको हो, यसमा सबै नगरवासीको साथ चाहिन्छ,’ उनले समापनका क्रममा भने । कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरू लगायत नगरसभाका सदस्यहरूको उपस्थिति थियो ।
