सम्बन्ध विच्छेदमा रेकर्ड ! गत वर्ष साढे २४ हजार जोडी छुट्टिए

एकै वर्ष साढे २४ हजारभन्दा बढी सम्बन्धविच्छेद (डिभोर्स)का घटना भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा उक्त संख्यामा नेपालमा सम्बन्धविच्छेद भएका हुन्, जुन हालसम्मकै सबैभन्दा उच्च हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार, २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा कुल २४ हजार ५२२ वटा सम्बन्धविच्छेदका घटना अनलाइन दर्ता भएका छन् ।

२०८२ को वैशाख, जेठ र असार गरी तीन महिनामा मात्र ६ हजार ४९५ वटा सम्बन्धविच्छेदका घटना अनलाइन दर्ता भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालमा २३ हजार ३५५ वटा सम्बन्धविच्छेदका घटना अनलाइन दर्ता भएको विभागको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७९/८० देखि नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी सम्बन्धविच्छेदका घटना दर्ता हुँदै आएका छन् । विभागको तथ्यांकअनुसार, २०४१ सालसम्म नेपालमा सम्बन्धविच्छेदको घटना दर्ता भएको देखिँदैन ।

२०४२ सालमा २१ वटा सम्बन्धविच्छेदका घटना भएका थिए । उक्त वर्ष १४ हजार ७८६ वटा विवाह दर्ता भएका थिए ।

२०५० सालमा नेपालमा ५७ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको विभागको तथ्यांकले देखाउँछ । सो वर्ष नेपालमा ३३ हजार ६१२ वटा विवाह दर्ता भएका थिए ।

यस्तै, २०६० सालमा एक लाख ४३ हजार ९७ वटा विवाह दर्ता हुँदा ९७ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएको देखिन्छ । २०७० सालमा मात्र नेपालमा ३९७ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएका थिए ।

उक्त वर्ष एक लाख ६४ हजार ९९४ वटा विवाह दर्ता भएका थिए । २०८० सालमा २३ हजार ७१८ वटा सम्बन्धविच्छेदका घटना अनलाइन दर्ता भएका थिए ।

विभागको तथ्यांक अनुसार, २०४२ सालदेखि २०८१ सालसम्मको ४० वर्षको अवधिमा नेपालमा एक लाख १० हजारभन्दा बढी सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् । तीमध्ये एक लाख ६ हजारभन्दा बढी पछिल्ला ११ वर्ष (२०७१ देखि २०८१ सम्म)मा मात्र दर्ता भएका हुन् ।

नेपालमा सम्बन्धविच्छेदबारे खासै अध्ययन तथा अनुसन्धान भएका छैनन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०८१ सालमा एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो, जसको नाम थियो ‘व्यक्तिगत घटना दर्ताको विश्लेषणात्मक प्रतिवेदन २०७६-२०७९’ । यसमा सम्बन्धविच्छेदका केही तथ्य समेटिएका छन् ।

प्रतिवेदनअनुसार, चार वर्षमा दर्ता भएकामध्ये ३७ हजार २६६ वटा सम्बन्धविच्छेदका घटनालाई अध्ययनमा समेटिएको थियो । अध्ययनले उक्त अवधिमा सबैभन्दा बढी सम्बन्धविच्छेदका घटना वाग्मती प्रदेशमा र सबैभन्दा कम मधेस प्रदेशमा दर्ता भएको देखाएको थियो । वाग्मती प्रदेशको पनि सबैभन्दा बढी काठमाडौंमा यस्ता घटना दर्ता भएका थिए ।

‘प्रतिवेदन अवधिमा सम्बन्धविच्छेद दर्ता गर्ने पुरुषको उमेर हेर्दा ३० देखि ३४ वर्ष उमेर समूहका पुरुषहरू सबैभन्दा बढी २६.२ प्रतिशत छन्, ३५ देखि ३९ वर्ष समूहका २१.८ प्रतिशत र २५ देखि २९ वर्षसम्मका २० प्रतिशत छन्,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै, २५ वर्षभन्दा कम उमेरमा सम्बन्धविच्छेद दर्ता गर्ने पुरुष ५.७ प्रतिशत थिए । ५० वर्षभन्दा बढी उमेरमा सम्बन्धविच्छेद दर्ता गर्ने पुरुष ६.४ प्रतिशत रहेको प्रतिवेदनमा देखाइएको छ ।

“प्रदेशगतरूपमा सम्बन्धविच्छेद गर्ने पुरुषको उमेर हेर्दा प्रतिवेदन अवधिमा सबै प्रदेशमा ३० देखि ३४ वर्ष उमेर समूहका पुरुषहरूको बाहुल्यता देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

सुदूरपश्चिम प्रदेशमा मात्र २५ देखि २९ वर्षसम्मका २८.३ प्रतिशतले सम्बन्धविच्छेद दर्ता गरेको देखिन्छ । कर्णाली प्रदेशमा २५ वर्षभन्दा कम उमेरमा सम्बन्धविच्छेद दर्ता गर्ने पुरुष ११.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘सम्बन्धविच्छेद गर्ने महिलाको उमेर हेर्दा प्रतिवेदन अवधिमा २५ देखि २९ वर्ष उमेर समूहका महिलाहरूको सबैभन्दा बढी २९.७ प्रतिशत र क्रमशः ३० देखि ३४ वर्ष समूहका २३.२ प्रतिशत र २० देखि २४ वर्षसम्मका १७.६ प्रतिशत छन्,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार, १९ वर्षभन्दा कम उमेरमा सम्बन्धविच्छेद दर्ता गर्ने महिला ०.९ प्रतिशत छन् । ५० वर्षभन्दा बढी उमेरमा सम्बन्धविच्छेद दर्ता गर्ने महिला २.७ प्रतिशत देखिन्छ ।

“प्रदेशगतरूपमा सम्बन्धविच्छेद गर्ने महिलाको उमेर हेर्दा प्रतिवेदन अवधिमा सबै प्रदेशमा २५ देखि २९ वर्ष उमेर समूहका महिलाहरूले सबैभन्दा बढी प्रतिशत सम्बन्धविच्छेद दर्ता गरेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

Exit mobile version