सात वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर थप घट्ने भएको छ ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार ७ वटा बैंकहरूले जेठ महिनाको तुलनामा असारका लागि ब्याजदरमा कटौती गर्दा वाणिज्य बैंकमा मुद्दतिर्फको औसत ब्याजदरमा गिरावट हुने भएको हो ।

असार महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठको ४.३४ प्रतिशतको तुलनामा ०.०७ प्रतिशतले कम हो । त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर पनि ३.२० प्रतिशतबाट ०.०२ प्रतिशतले घटेर ३.१८ प्रतिशत पुगेको छ ।

विवरण अनुसार २० वाणिज्य बैंकहरू मध्ये १३ वटा बैंकले भने असारका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास, एभरेष्ट, नेपाल, नेपाल एसबीआई, ग्लोबल आइएमई, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, सिद्धार्थ, नबिल, सानिमा, राष्ट्रिय वाणिज्य र एनआइएमबी बैंकले असार महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर स्थिर राखेका छन् ।

तर, असारका लागि लक्ष्मी सनराइज र एनआइसी एशिया बैंकले व्यक्तिगततर्फ सबैभन्दा धेरै ०.५० प्रतिशत बिन्दुले कटौती गरेका छन् ।

यी दुवै बैंकको व्यक्तिगत ब्याजदर ४.५० बाट घटेर ४ प्रतिशतमा झरेको छ । एनआइसी एशियाले संस्थागततर्फ पनि ०.५० प्रतिशतले नै ब्याजदर घटाएर ३ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, हिमालयन बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाएर क्रमशः ४ प्रतिशत र ३.५० प्रतिशत कायम गरेको छ ।

प्राइम बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ४ प्रतिशत बनाएको छ भने कुमारी बैंकले ०.०६ प्रतिशत र एनएमबि बैंकले ०.०५ प्रतिशतले व्यक्तिगत ब्याजदर घटाएका छन् ।

स्ट्याण्डर्ड चार्टर्डले भने व्यक्तिगततर्फ ०.०५ प्रतिशतले ब्याजदर घटाएर ३.९५ प्रतिशत कायम गर्दा संस्थागततर्फ भने ०.२७ प्रतिशतले वृद्धि गरी २.७५ प्रतिशत पुर्‍याएको छ ।

सामान्यतया बजारमा तरलता उपलब्धताको तुलनामा कर्जा माग कम हुँदा मुद्दती निक्षेपको ब्याजदरमा निरन्तर गिरावट आएको देखिन्छ ।

Exit mobile version