जनहितमा वडा १२: न्यून आयका वडाबासीलाई ‘म्यादी जीवन बीमा’

पोखरा महानगरको वडा १२ ले जनहितलाई ध्यानमा राख्दै नयाँ योजना ल्याएको छ । यस योजनाले न्यन आयस्रोतका वडाबासीलाई समेट्ने अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

वडाध्यक्ष बास्तोलाका अनुसार आर्थिक रूपमा कमजोर तथा न्यून आयस्रोत भएका वडाबासीहरूको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम सञ्चालन गरिएको हो ।

लक्षित वर्गका नागरिकहरूलाई जीवन बीमाको पहुँचमा ल्याई आकस्मिक मृत्यु वा अन्य जोखिमपूर्ण अवस्थाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्ने उद्देश्य रहेको बास्तोला बताउँछन् ।

कार्यक्रमका क्रममा वडाका विभिन्न टोलका न्यून आय भएका परिवारहरूलाई म्यादी जीवन बीमाको महत्व, प्रक्रिया तथा लाभबारे जानकारी प्रदान गरिएको छ । साथै, सहभागीहरूलाई बीमाले परिवारको भविष्य सुरक्षित गर्न तथा आकस्मिक जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउने विषयमा सचेत गराइएको थियो।

वडा सदस्य शान्ति कोइराल ले सीमित आय भएका परिवारहरूका लागि पनि न्यून शुल्कमा बीमा गर्न सकिने भएकाले यस कार्यक्रमबाट लाभ लिन सबैलाई अनुरोध गरेकी छिन् ।

सोहीक्रममा गण्डकी प्रदेशका प्रमुख शिवप्रसाद पौडेलले आर्थिक जोखिम न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने जनाएका छन् ।

यस कार्यक्रमबाट आर्थिकरुपमा कमजोर परिवारलाई राहत मिल्ने वडाबासीको धारणा छ ।

Exit mobile version