पोखरा महानगरपालिकाले लक्षित वर्गका लागि अस्पतालहरूमा निःशुल्क उपचार सेवा कार्यान्वयनमा ल्याएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (संचालन तथा व्यवस्थापन) सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम यो व्यवस्था गरिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार पोखरा क्षेत्रका सरकारी तथा निजी अस्पतालले कुल स्वीकृत शैयाको १० प्रतिशत शैया लक्षित वर्गका बिरामीका लागि निःशुल्क उपचारका लागि उपलब्ध गराउनु पर्नेछ । विपन्न, असहाय तथा बेवारिसे बिरामीले प्रचलित कानून बमोजिम गरिब कार्ड, सिफारिस वा स्वघोषणाका आधारमा यो सेवा सहज रूपमा पाउने छन् ।
सेवाग्राही तथा वडा कार्यालयको भूमिका स्पष्ट पार्दै महानगरले भनेको छ, ‘विपन्न नागरिक परिचयपत्र (गरिब कार्ड) भएका सेवाग्राहीले सोझै सूचीकृत अस्पतालमा सम्पर्क गरी सेवा लिन सक्ने छन् ।’
गरिब कार्ड नभएका विपन्न तथा असहाय बिरामीको हकमा सम्बन्धित वडा कार्यालयले स्वास्थ्य महाशाखासँग समन्वय गरी उपलब्ध निःशुल्क शैयाका आधारमा अस्पतालमा सिफारिस गर्ने व्यवस्था गरिएको छ । यस्तै, बेवारिसे बिरामीको हकमा नेपाल प्रहरी वा स्थानीय प्रशासनबाट भएको मुचुल्का वा सिफारिसका आधारमा सम्बन्धित अस्पतालमा उपचारका लागि सिफारिस गर्न सकिने छ ।
अस्पतालहरूले आफ्नो कुल स्वीकृत शैयाको १० प्रतिशत शैया लक्षित वर्गका लागि निःशुल्क उपचारमा छुट्याई नियमित रूपमा उपलब्ध गराउनु पर्नेछ । अस्पतालले पोर्टलमा शैयाको विवरण समेत नियमित अद्यावधिक गर्नु पर्नेछ । निःशुल्क उपचार अन्तर्गत आइपिडी, ओपिडी, चिकित्सकीय परामर्श, प्रयोगशाला, औषधि वा फार्मेसी तथा आवश्यक उपचार सम्बन्धी सेवाहरू कार्यविधि बमोजिम निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
महानगरले अस्पतालहरूलाई लक्षित वर्गका सेवाग्राहीलाई सहजीकरण गर्न फोकल व्यक्ति तोक्न र उसको नाम, सम्पर्क नम्बर तथा निःशुल्क शैयाको उपलब्धता सम्बन्धी विवरण ‘फ्रि हेल्थ पोर्टल’ मा अद्यावधिक राख्न निर्देशन दिएको छ । निःशुल्क उपचार प्राप्त गर्ने सेवाग्राहीबाट कार्यविधि बमोजिम निःशुल्क प्रदान गर्नु पर्ने सेवाका नाममा कुनै शुल्क, अतिरिक्त रकम वा अनधिकृत दस्तुर असुल नगर्न समेत सचेत गराइएको छ ।
पोखरा महानगरपालिकाले कार्यविधि उल्लंघन गर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । ‘लक्षित वर्गका लागि छुट्याउनु पर्ने निःशुल्क १० प्रतिशत शैया उपलब्ध नगराउने, योग्य सेवाग्राहीलाई उपचारबाट वञ्चित गर्ने, शुल्क असुल गर्ने, पोर्टलमा गलत विवरण प्रविष्ट गर्ने वा कार्यविधि उल्लंघन गर्ने अस्पतालमाथि प्रचलित कानून बमोजिम अनुगमन, छानबिन तथा आवश्यक कानूनी कारबाही गरिने छ’, विज्ञप्तिमा उल्लेख छ ।
हाल पोखरा महानगरपालिका क्षेत्रका सरकारी तथा निजी अस्पतालमा करिब २२६ शैया निःशुल्क उपचारका लागि छुट्याइएको छ । यो संख्या आवश्यकता अनुसार थप हुन सक्ने महानगरले बताएको छ । थप सहजीकरणका लागि महानगरले ९८४७७४४१९५ र ९८४६५१८७२४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
