पश्चिमाञ्चलमा आईसीयू विस्तार, थप २५ शैय्या सञ्चालनमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा २५ शैयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ।

घटस्थापनाको दिन शनिबार प्रतिष्ठानले नयाँ सघन उपचार सेवा सुरु गरेको हो।

नयाँ कक्षमा १६ शैया सघन उपचार कक्ष (आईसीयू), १ शैया आइसोलेसन आईसीयू र ८ शैया सिसीयू रहेका छन्। यससँगै प्रतिष्ठानमा सघन उपचारका लागि उपलब्ध शैया संख्या ३५ पुगेको छ।

यसअघि अस्पतालमा १० शैयाको आईसीयू सञ्चालनमा थियो। त्यसमा थप २५ शैया विस्तार भएपछि अब ३५ शैयाको सघन उपचार सेवा उपलब्ध भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार सघन उपचार आवश्यक पर्ने बिरामीलाई शैया अभावका कारण अन्यत्र पठाउनुपर्ने अवस्था तत्कालका लागि अन्त्य हुने अपेक्षा गरिएको छ। नयाँ सेवा विस्तारले अस्पतालमै गम्भीर अवस्थाका बिरामीको उपचार व्यवस्थापन गर्न सहज हुने प्रतिष्ठानको विश्वास छ।

नयाँ सघन उपचार कक्ष प्रतिष्ठानका उपकुलपति प्राडा नारायण सिंह गुरुङ, डीन सहप्राडा डेविड श्रेष्ठ र निर्देशक सहप्राडा झपिन्द्र पोखरेलसहितको उपस्थितिमा शुभारम्भ गरिएको हो।

Exit mobile version