स्वास्थ्य बीमा बोर्डले १३ वटा ठूला रेफरल अस्पताललाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’ का रूपमा सेवा दिन अनुमति दिएको छ।
आम जनमानसबाट ठूला र प्रभावकारी सरकारी अस्पताललाई ‘रेफरल’ घोषणा गरेको ४ दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो।
यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालहरुले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो।
त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालहरु अन्योलमा परेका थिए।
स्थानीय तह र सेवाग्राहीको चर्को विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा बोर्डले फेरि असोज मसान्तसम्मका लागि सेवा निरन्तर गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार, उपत्यका बाहेकका १३ वटा रेफरल अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रूपमा काम गर्न सक्ने गरी पत्राचार गरिएको छ। साथै, स्थानीय तहहरुलाई चाँडोभन्दा चाँडो छुट्टै प्रथम सेवा विन्दुका रूपमा अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।
प्रथम सेवा बिन्दूबाट हटाइएको पत्र पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मेडिकल रेकर्ड अधिकृत भीमप्रसाद पौडेलले नयाँलिपिसँग गरेको कुराकानीमा यसबाट सरकारी नभई निजीले फाइदा पुग्ने बताएका थिए ।
पौडेलका अनुसार रिफर भएर पश्चिमाञ्चल अस्पताल आउनु पर्दा बिरामीलाई झन्झट हुने र रेफरल सेन्टरबाट पश्चिमाञ्चल अस्पताललाई बाइपास गरिने आशंका व्यक्त गरेका थिए ।
प्रथम सेवा विन्दु कायम रहने १३ अस्पताल
१. कोशी अस्पताल
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
३. नारायणी अस्पताल, बीरगञ्ज
४. गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
५. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
६. भरतपुर अस्पताल
७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
८. जीपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ
९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
१०. भेरी अस्पताल, नेपालगञ्ज
११. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
१२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा