गण्डकीको नीति तथा कार्यक्रममा ‘स्वास्थ्य’: डायलाइसिसदेखि हवाई उद्धारसम्म प्राथमिकता

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

नीति तथा कार्यक्रमअनुसार प्रदेशका अस्पतालहरूमा स्वास्थ्य सङ्कायसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ। यस कदमले स्वास्थ्य जनशक्ति उत्पादन तथा दक्ष जनशक्ति अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मिर्गौला रोगीहरूको उपचारलाई सहज बनाउन डायलाइसिस सेवाका लागि पालो कुर्नु नपर्ने व्यवस्था मिलाइने सरकारको लक्ष्य रहेको छ। यसले सेवा प्राप्तिमा देखिएको चाप व्यवस्थापन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

त्यस्तै, विद्यालय केन्द्रित सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गरी विद्यार्थी तथा समुदायस्तरमा स्वास्थ्य सचेतना र आधारभूत स्वास्थ्य सेवा विस्तार गरिनेछ।

नीति तथा कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सेवालाई समेत निरन्तरता तथा प्रभावकारी बनाइने उल्लेख गरिएको छ। दुर्गम क्षेत्रमा रहेका महिलाहरूलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

प्रदेश सरकारले स्वास्थ्य सेवा पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यसहित यी कार्यक्रमहरू अघि सारेको जनाएको छ।

Exit mobile version