पोखरामा ‘एबी पोजिटिभ’ रगतको मौज्दातमा कमी, रक्तदान गर्न अपील

नेपाल रेडक्रस सोसाइटी, कास्की अन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा, पोखराले रक्त अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ–संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ।

प्रादेशिक रक्तसञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीका अनुसार यही महिनाको १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय भएको छैन ।

साथै, हाल ‘एबी पोजेटिभ’ रक्त समूहको मौज्दात न्यून रहेकाले आवश्यकताअनुसार रगत उपलब्ध गराउन चुनौती उत्पन्न हुन सक्ने देखिएको छ।

यस अवस्थालाई ध्यानमा राख्दै सेवा केन्द्रले विभिन्न संघ–संस्था, क्लब, आमा समूह, युवा समूह तथा अन्य सामाजिक संस्थाहरूलाई उक्त अवधिमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ।

रक्तसञ्चार सेवाले रक्तदानलाई जीवनदानसँग जोड्दै सबै सरोकारवालालाई मानव सेवाको भावनासहित रक्तदान अभियानमा सहभागी हुन आह्वान गरेको छ। “तपाईंको सानो प्रयासले कसैको जीवन बचाउन सक्छ,” सेवाले जारी गरेको अनुरोधमा उल्लेख गरिएको छ।

रक्तदान कार्यक्रम सञ्चालन गर्न इच्छुक संघ–संस्था तथा समूहहरूले थप जानकारीका लागि प्रादेशिक रक्तसञ्चार सेवा, पोखराका प्रमुख अर्जुन ज्ञवालीसँग सम्पर्क गर्न सक्ने रेडक्रस, कास्कीका मन्त्री सन्तोष अधिकारीले जनाएका छन् ।

Exit mobile version