पोखरा । २५औँ आहा रारा गोल्ड कप २०८२ अन्तर्गत आज पोखरा रंगशालामा सम्पन्न खेलमा आयोजक सहारा क्लब पोखराले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ६–५ ले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित हात पारेको छ ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
टाइब्रेकरमा सहाराका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । टिकेद्र थापा भने प्रहार गर्न असफल भए पनि आशिष गुरुङ, ताये डिनिल बदारु, प्रशन्न श्रेष्ठ, विनय तामाङ, बिकी चाम्लिङ राई र भगवत चौधरीले गोल गरे ।
नेपाल पुलिस क्लबका लागि निरज खड्का, दशरथ गिरी, जोन बिष्ट, अमित तामाटा र सञ्जीव लामाले गोल गरे । तर कप्तान राम वाजे र धिरेन्द्र शाह ले गोल गर्न सकेन ।
आजको खेलमा आयोजक सहारा क्लबका गोल किपर टिकेन्द्र थापा म्यान अफ दि म्याच घोषित भए ।
नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले टिमले निर्धारित समयमा खेलाडीहरुले राम्रो खेल पस्के पनि भाग्यले साथ नदिएको प्रतिकृया दिए ।
सहारा क्लबले पहिलो खेलमा गोर्खा इन्टरनेशनल फुटबल क्लब (हङकङ) लाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो भने पुलिसले सिधै बाई पाउँदै अन्तिम आठको यात्रा तय गरेको थियो। अब सहाराले सोमबार हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
भोलि दिउँसो ३ बजे चर्च ब्याइज युनाइटेड र जाउलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
