जलनको पीडा सम्झँदै मेयर, महानगरको पहलमा हरियो खर्कले सुरु गर्दै ‘बर्न वार्ड’

पोखरा महानगरपालिकाको विशेष सक्रियता र सहकार्यमा आगामी फागुन ६ गतेदेखि पोखरामा ‘जलन उपचार सेवा’ सञ्चालनमा आउने भएको छ। पोखरास्थित आइएनएफ नेपाल अन्तर्गतको हरियोखर्क अस्पतालमा यो सेवा सुरु हुन लागेको हो।

यसअघि पोखरा र वरपरको क्षेत्रमा जलनको विशिष्टीकृत उपचार गर्ने अस्पताल नहुँदा बिरामीहरूलाई थप उपचारका लागि काठमाडौं रिफर गर्नुपर्ने बाध्यता थियो। अब पोखरामै यो सेवा उपलब्ध भएपछि बिरामीहरूले पाउने सास्ती र उपचार खर्चमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ।

पोखरा म्याराथनको उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो खुसीको खबर सार्वजनिक गरेका हुन्।

उनले गत वर्ष फागुन २ गते ‘भिजिट इयर २०२५’ को घोषणा कार्यक्रममा भएको बेलुन विस्फोटको घटना स्मरण गर्दै उक्त दुखद घटनाकै जगमा जलन अस्पतालको अवधारणा अघि बढेको बताए।

मेयर आचार्यले भने, ‘गत वर्षको दुर्घटनामा तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र म आफैँ पनि घाइते भई बाँच्न सफल भएका थियौँ। सोही घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा हामीले पोखरामा जलन उपचारको अभावलाई सम्बोधन गर्न यो सेवा सुरु गर्न लागेका हौँ।’ उनले आगामी फागुन ६ गतेदेखि हरियोखर्क अस्पतालमा बर्न युनिटको विशेष शुभारम्भ हुने जानकारी दिए।

महानगरपालिकाले यस सेवालाई व्यवस्थित बनाउन चालु आर्थिक वर्षको बजेट (रातो किताब) मै ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

हाल हरियोखर्क अस्पतालमा ल्याब, सिटी स्क्यान, एक्सरे, भिडियो एक्सरे, प्यालिएटिभ केयर र ओपिडी जस्ता सुविधाहरू सञ्चालनमा छन्। अब ‘बर्न युनिट’ थपिएपछि यसले पश्चिम नेपालकै जलनका बिरामीहरूलाई ठुलो राहत दिनेछ।

मेयर आचार्यका अनुसार, यो तत्कालको समाधान मात्र नभई भविष्यमा पोखरा–२७ मा ‘कोइकाको सहयोगमा अझै ठूलो र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्ने योजनासमेत अगाडि बढिसकेको छ।

Exit mobile version