दिपक के श्रेष्ठः पोखराको मेयर धनराज आचार्यले बर्ष दिनभित्र जलनसम्बन्धी विशेष अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
पोखरा भ्रमण वर्षको उद्घाटनकाक्रममा बेलुन पड्किएर भएको आगलागीबाट स्वयं पीडित भएपछि मेयर आचार्यले पोखरा लिटरेचर फेस्टिभलमा आइतबार पोखरामा जलन अस्पतालको स्थापना गरेरै छाड्ने उद्घोष गरेका हुन् ।
फेस्टिभलको अन्तिम सत्रमा आयोजित ‘अग्नि जलनमा मलम’ सेशनमा अब उपचारकालागि काठमाण्डौं धाउन पर्ने अवस्थाको अन्त्य गर्ने बताए ।
पत्रकार टिकाराम यात्रीसँगको शेसनमा कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मी र अभियन्ता उज्वलविक्रम थापा सहभागी संवादमा आचार्यले भने ‘६ सय ८० डिग्रीको लप्काले पोलेको पीडा कल्पना गर्न पनि सकिँदैन, भोगेपछिमात्रै थाहा हुने रहेछ ।’
जलनबाट छट्पटिएर अस्पतालको बेडबाटै आफुले पोखरामा १ वर्षभित्र सुविधासम्पन्न जलनको उपचार गर्ने अस्पताल बनाएरै छाड्ने प्रतिज्ञा गरेको उनले सुनाए ।
डा. नकर्मीले नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेको सुनाए । देशभर ९० वटा केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको दुई घण्टाभित्रै गर्न सकिने उनले बताए । ‘जल्नेबित्तिकै हेल्थ पोष्ट, जिल्ला अस्पतालमा उपचार गर्न सकिन्छ ।
देशभर ९० वटा केन्द्र भएमा २ घण्टामा प्राथमिक उपचार पाउन सकिन्छ,’ डा। नकर्मीले थपे, ‘त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक अस्पतालमा गर्न सकिन्छ र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिन्छ ।’
कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या रहेको र दुई वर्षभित्र ७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको उनले सुनाए ।
अभियन्ता उज्वलविक्रम थापा वार्षिक ७० हजार नेपालीले व्यहोनुपर्ने अमानवीय नरसंहारको रूपमा व्याख्या गरे । दुर्घटना जुनसुकै समय हुनसक्ने भन्दै थापाले पहिल्यै सचेत हुन उनले आग्रह गरे ।
‘मनुष्य जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरा हरेक व्यक्तिको समान हुन्छ । एउटै गल्तीले जल्ने गर्छन् । मलाई हुँदैन भन्ने भ्रममा नबाँच्नुहोला । कसैलाई पनि कुनै समय पर्न सक्ने भएकाले यसलाई रोग होइन दुर्घटना भनिएको हो,’ थापाले भने ।
आगोसँग नजिक हुने श्रमिकको बीमा गरिदिन उनले व्यवसायीलाई आग्रह गरे । पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर नछोड्न अभियन्ता थापाले सुझाएका छन् ।
सोही सेशनपश्चात् यस वर्षको लिटरेचर फेस्टिभल समापन भएको छ । ।
