साथी-साथी मिलेर मदिरा सेवन गर्दा उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा पोखरामा एक वृद्धको हत्या भएको छ। पोखरा महानगरपालिका–१२ भद्रकाली नजिकै बुधबार राति ६० वर्षीय रमेश सुनारको ढुंगा प्रहार गरी हत्या भएको हो।
हत्याको आरोपमा कास्की प्रहरीले मृतकका साथी पाल्पाको रामपुर घर भई हाल पोखरामा ज्याला मजदुरी गर्ने ३८ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको छ।
घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेको र उनको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ।
के भएको थियो घटना?
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार मृतक सुनार, अभियुक्त थापा र फरार रहेका अर्का व्यक्तिले दिनभर मजदुरी गरेर साँझ सँगै मदिरा सेवन गरेका थिए। मदिराको नसामा उनीहरूबीच विवाद सुरु भएको थियो।
हिँड्दै जाने क्रममा भद्रकाली जंगल नजिकैको खाली जग्गामा पुगेपछि विवादले झगडाको रूप लियो, जहाँ दुई जना मिलेर सुनारमाथि ढुंगा प्रहार गरेका थिए।
टाउको र शरीरमा चोट लागेका सुनारको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बिहीबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
कुकुर र सिसिक्यामेराको मद्दतले पक्राउ
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो।
कुकुरको ट्रयाकिङ, आसपासका सिसिक्यामेरा फुटेज र प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरी अभियुक्त थापालाई पक्राउ गर्न सफल भएको हो।
एसपी कार्कीले भने, ‘उनीहरू जहाँ काम पाइन्छ, त्यहीँ पुग्ने र बस्ने गरेका फिरन्ते प्रकृतिका मजदुर हुन्। राति सँगै मदिरा पिएर बस्ने क्रममा विवाद भएपछि हत्या भएको खुल्न आएको छ।’
मृतक सुनार पोखरा–१६ बाटुलेचौरका स्थायी बासिन्दा भए पनि वडा नम्बर १२ हस्पिटल चोकमा बस्दै आएका थिए।
प्रहरीले पक्राउ परेका थापामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ। मृतकको शव पोस्टमार्टमपछि उनकी श्रीमती र छोराले बुझेको प्रहरीले जनाएको छ।
