पोखरा महानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ।
यस ऐतिहासिक अवसरमा महानगरले पोखराको निर्माण र विकासमा विशिष्ट योगदान पुर्याउने ९ जना व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ उपाधिसहित सम्मान गर्ने घोषणा गरेको छ।
स्थापना दिवसको मुख्य आकर्षणका रूपमा रहेको ‘पोखरेली नवरत्न’ सम्मानअन्तर्गत भाषा, साहित्य, कला (सङ्गीत, नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, समाज सेवा, खेलकुद, पर्यटन र विज्ञान प्रविधिलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू छनोट गरिनेछ।
सम्मानित हुने ९ जना व्यक्तित्वलाई जनही नगद रु. २ लाख २ हजार २०२, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने महानगरले जनाएको छ।
कर्मचारी र शैक्षिक क्षेत्रलाई विशेष सम्मान
दिवसका अवसरमा महानगरपालिकाले कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ११ जना कर्मचारीलाई सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ श्रेणीमा सम्मान गर्नेछ।
शैक्षिक क्षेत्रतर्फको नतिजालाई प्रोत्साहन गर्दै एसइई परीक्षामा ४ जिपिए ल्याउने ६७ जना र नगरस्तरीय कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीलाई सम्मान गरिनेछ।
यसैगरी, विषयगत रूपमा उत्कृष्ट नतिजा निकाल्ने ६० जना शिक्षक तथा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक र संस्थागत विद्यालयहरूलाई पनि पुरस्कृत गरिने कार्यक्रम तय भएको छ।
महानगरले सरसफाइमा उत्कृष्ट हुने ३ वटा वडा र मातहतका कार्यालयलाई पुरस्कृत गर्नेछ। साथै, समयमै र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गरिनेछ।
सामाजिक उत्तरदायित्व अन्तर्गत उमेरको ज्येष्ठताका आधारमा ‘महानगर मातापिता’ सम्मान, किसानका लागि कृषि हाजिरीजवाफ (क्विज) र रक्तदान कार्यक्रम आयोजना गरिनेछ।
पोखराको मौलिक चिनारी जोगाउन ‘लोकबाजा सारङ्गी’ प्रवर्द्धनका लागि ‘सारङ्गी पार्क’ को शिलान्यास समेत यसै अवसरमा गरिने भएको छ।
स्थापना दिवसको पूर्वसन्ध्यामा पोखराको मानवअधिकार चोक (चिप्लेढुंगा) देखि सभागृहसम्म भव्य सांस्कृतिक झाँकी तथा र्याली निकालिनेछ।
मूल समारोहमा सहभागी हुन पोखरासँग भगिनी सम्बन्ध रहेका स्वदेशी तथा विदेशी नगरका प्रतिनिधिहरू, देशभरका महानगर र उप–महानगरपालिकाका प्रमुखहरू तथा छिमेकी पालिकाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ।
कार्यक्रम व्यवस्थापनका लागि मूल समारोह समिति, निर्देशक समिति र २४ वटा विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको छ।
तस्बिरः सुदर्शन रञ्जित
