पोउवाको औद्योगिक मेलाको तयारी पुरा, १७ गतेदेखि सुरु

यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी लगभग पूरा भएको छ ।

आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् ।

अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी/व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्नु मेलाको उद्देश्य रहेको छ ।

उनले मेला आयोजना स्थल अर्थात् प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भए पनि संघको उत्साहमा कुनै कमी नभएको बताउँदै मेला ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्ने बताए ।

‘मंसिर १७ देखि २१ गतेसम्म आयोजना हुने मेलामा सूचना प्रविधिका नयाँ उत्पादनदेखि घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन,अटो र औद्योगिक उत्पादनहरु रहने छन्,’ अध्यक्ष कार्कीले भने, ‘उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणको लागि नीतिगत पैरवी गर्ने गरी हामीले मेलास्थलमै कृषि,पर्यटन,सरकारले अगाडि ल्याएका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम पनि संचालन गर्दैछौँ ।’

संघका महासचिव शोभा गौतमका अनुसार कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान) कास्की मेलाको सह–आयोजक हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको गण्डकी प्रदेश संरक्षक रहेको मेलामा पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक रहेको छ भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकको भूमिकामा छन् । ग्लोबल आइएमई बैंकले मेलामा सह प्रायोजकको भूमिका निर्वाह गरेको छ ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् नयाँ युगको आवश्यकता संवोधन गर्ने प्रयत्न गर्ने बताए । उनले मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादनहरु प्रदर्शनीमा राखिने जानकारी पनि दिए ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन,औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको बताउँदै मेलाको अवसरमा यस क्षेत्रमा मौलिक संंस्कृति प्रदर्शन गर्ने जानकारी दिइन् ।

Exit mobile version