पोखरामा व्यापार मेला सुरु, ५० अर्बको आयोजना बनाउने उद्घोष

‘नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक–२०८२’ बुधबारदेखि पोखरामा सुरु भएको छ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ कास्कीको सहआयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा मेला सुरु भएको हो।

मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूला पूर्वाधार निर्माण गर्न सकिने बताए। उनले ‘नेपालमा केही हुँदैन’ भन्ने निराशाजनक भाष्य चिर्न जरुरी रहेको औँल्याए।

‘५० अर्बको प्रोजेक्ट सुरु गर्दैछौँ’
अध्यक्ष ढकालले नेपालमा ठूला पूर्वाधार निर्माणका लागि ‘नेपाल डेभलपमेन्ट पब्लिक (एनडिपी)’ गठन गरिएको जानकारी दिए।

‘हामीले एनडिपीमार्फत धेरै व्यवसायीलाई समेटेर नेपालकै पुँजी परिचालन गरी ५० अर्बको प्रोजेक्ट बनाउन थालेका छौँ, ‘ढकालले भने।

उनले गण्डकी प्रदेशको समृद्धिका लागि कोरला नाका महत्त्वपूर्ण रहेको भन्दै निजी क्षेत्रको पहलमा नाकासम्मको पूर्वाधार निर्माण भइरहेको दाबी गरे। स्थानीय उत्पादनको प्रवर्द्धनले मात्र अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै आयोजक संघका अध्यक्ष गोकर्ण कार्कीले पछिल्लो समय जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण र त्यसपछि खल्बलिएको व्यावसायिक वातावरण सुधार्न मेला आयोजना गरिएको बताए।

‘खस्किएको उद्योगी–व्यवसायीको मनोबल बढाउन र लगानीका नयाँ सम्भावना खोजी गर्न यो मेला केन्द्रित छ,’ कार्कीले भने। उनले आत्मनिर्भर अर्थतन्त्र र दिगो विकासका लागि नीतिगत सुधारको आवश्यकता औँल्याए।

पाँच दिनसम्म (मंसिर २१ गतेसम्म) चल्ने मेलामा उद्यमशीलता विकासका लागि नीतिगत पैरवी गर्न कृषि, पर्यटन र सरकारी आर्थिक नीतिबारे बहसमूलक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।

सहआयोजक क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलाले नयाँ युगको आवश्यकतालाई सम्बोधन गर्ने र सूचना प्रविधिका नवीनतम उत्पादनहरू प्रदर्शन गर्ने जानकारी दिए।

संघकी महासचिव शोभा गौतमका अनुसार मेलामा सूचना प्रविधिका नयाँ उत्पादन, घरायसी सामग्री, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटोमोबाइल र औद्योगिक उत्पादनका स्टलहरू रहेका छन्।

मेलालाई उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष भेटघाटको थलोका रूपमा विकास गरिएको आयोजकले जनाएको छ।

Exit mobile version